
डोटी : घण्टौं कुरेर पानी जोहो गर्दै आएका आदर्श गाउँपालिका–६ गिरीचौकाको काँणाका बासिन्दा अहिले भने खुसी भएका छन् । काँणाका बासिन्दाले पुस्तौंदेखि भोग्दै आएको खानेपानी अभावलाई गाउँपालिकाले हल गरिदिएको हो।
गाउँपालिका अध्यक्ष गणेशबहादुर खड्काले ७० लाख रुपैयाँमा निर्मित खानेपानी आयोजना स्थानीयलाई हालै हस्तान्तरण गर्नुभयो। डाँडाबाग मन्दिर नजिक खोलाको पानी लिफ्टबाट तानेर गाउँ पुर्याइएको हो । योजना हस्तान्तरण गर्दै अध्यक्ष खड्काले निर्वाचनका बेला स्थानीयलाई गरिएको बाचा पूरा गर्न पाएकोमा खुसी व्यक्त गर्नुभ्यो।
काँणा गाउँका ६९ घरधुरीले यसअघि एउटै धाराबाट खानेपानीको आपूर्ति गर्दै आएका थिए । ‘गाउँभरिका लागि एउटै धारा हुँदा घण्टौं कुर्नुपर्ने बाध्यता थियो,’ स्थानीय कृष्ण थापाले भन्नुभयो ‘कहिले पानी आउँथ्यो, कहिल्यै आउँथेन ।’ खानेपानी अभावकै कारण तीव्र बसाइँसराइ र खाद्य संकटले सताइरहेका बेला पालिकाले घर घरमा खानेपानी पुर्याएपछि स्थानीय खुसी भएको थापाले बताउनुभयो।
गत आर्थिक वर्ष गाउँपालिकाले टेण्डर मार्फत खानेपानी आयोजनाको निर्माण सुरु गरेको थियो । ६९ घरधुरीलाई २३ वटा धारा निर्माण गरिएकाले अब विगतको जस्तो पानीकै लागि घण्टौं कुर्नुपर्ने बाध्यता हटेको पालिका उपाध्यक्ष लक्ष्मी धामी रोकायाले बताउनुभयो।
गाउँपालिकाले वडा ६ मा पनि खानेपानी योजना निर्माण गरिरहेको छ । एउटै योजनालाई ३ टुक्रा बनाएर पालिकाले गत वर्ष ७० लाख बराबर लगानी गरेर काँडी गाउँका घरधुरीमा पानी खसाली सकिएको इञ्जनियर धनबहादुर थापाले बताउनुभयो। ‘गत वर्ष ७० लाख लगानी गरेर काँडीमा खानेपानी पुर्याइयो, चालु वर्षमा ६० लाख बराबरको ठेक्का निकालेर खतेडा र ढाँटबाडा गाउँमा पानी वितरण गर्छौं,’ इञ्जनियर थापाले भन्नुभयो, ‘अर्को वर्ष सिल्ल साउँकोलामा वितरण गर्ने योजना छ ।’
वडा ६ बाहेक अन्य वडामा लागू हुने गरी करिब ६० करोड बराबरको लगानीमा बृहत खानेपानी आयोजना समेत निर्माण हुन गइरहेको छ । उक्त आयोजना निर्माण पछि करिब ४ हजार परिवार लाभान्वित हुने पालिकाले जनाएको खबर कान्तिपुर दैनिकले प्रकाशन गरेको छ।


410 पटक हेरिएको 

