सर्लाहीमा सरसफाइ गस्तीलाई स्थानीयको अवरोध

सर्लाही : खुला ठाउँमा दिसा गर्ने विरुद्ध बिहानै माइकिङ गर्ने र पक्राउ गरी सचेतना जगाउँदै आएको सरसफाइ गस्तीलाई स्थानीयबासिन्दाले अवरोध पु-याएका छन् । आइतबार सर्लाहीको बरहथवा नगरपालिकाको वडा नं. १४ सर्चिया टोलमा पुगेको टोलीलाई स्थानीयबासिन्दाले विहानै ठूलो आवाजमा स्पिकर नबजाउन र गस्ती नगर्न चेतावनी दिएको हो ।

 

सरसफाइ गस्तीलाई सर्चिया टोलका ५० जना जत्ति महिला पुरुषले बाहिरै दिसा गर्ने र चर्पी पनि नबनाउने धम्की दिएका थिए ।

सचेतनामूलक कार्यक्रम तथा तालिम लगायत कार्यक्रम सञ्चालन गरी चर्पी गराउन प्रेरित गर्दा पनि बाहिरै दिसापिसाब गर्न थालेपछि केही समय यता सर्लाही, सिरहा, धनुषा लगायत जिल्लामा खुला दिसा गरिरहेकै ठाउँबाट पक्राउ गरी सरसफाइ शिक्षा दिने गरेको छ ।

सर्लाहीको बरहथवा नगरपालिकाका विभिन्न वडामा पुगेर टोलीले सरसफाइ सम्बन्धी सन्देशमूलक सामग्री बजाएर प्रचार गर्ने र खुला दिसा गरिरहेको भेटिएमा पक्राउ गर्ने गरेको छ ।

सरसफाइ गस्तीमाथि स्थानीयले अवरोध पु-याएपछि आगामी दिनमा कसरी जाने भन्ने रणनीति बनाइरहेको खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति सर्लाहीका सदस्य गजेन्द्र शाहले बताउनुभयो ।

यस्तै चुनावका लागि खटिएका ४ सय जना म्यादी प्रहरी र सरसफाइ अभियन्ताको सहभागितामा सर्लाहीको बरहथवा बजारको सरसफाइ गरिएको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार