विद्युतीय यातायातमा लगानी गर्न जिआइजेड र ग्लोबल आइएमई बैंक बीच सम्झौता

हरित गृह ग्यास उत्सर्जनमा कमी आउने विश्वास

  वास खबर सम्वाददाता  342 पटक हेरिएको
🔗
17
Shares

काठमाडौ : जर्मन सरकारको स्वामित्वमा रहेको जिआइजेड र ग्लोबल आइएमई बैंक बीच नेपालमा विद्युतीय सार्वजनिक यातायातमा लगानी गर्ने सम्बन्धी सम्झौता भएको छ । बैंकले नेपालमा विद्युतीय सवारी साधनको प्रयोग वृद्धि गर्ने उद्देश्यले विद्युतीय सार्वजनिक यातायातमा लगानी गर्न लागेको हो।

जिआइजेडले नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सँगको सहकार्यमा मिटिगेशन एक्सन फ्यासिलिटीको लगानीमा ‘दीर्घकालिन विद्युतीय यातायातका लागि नेपाल परियोजना’ सञ्चालन गरिरहेको छ।

परियोजनाले सार्वजनिक यातायातमा विद्युतीय साधनको विस्तार हुनुका साथै देशभित्र उत्पादित विद्युतको उपभोगमा वृद्धि हुने र स्वच्छ वातावरण निर्माणमा सहयोग पुर्‍याउने अपेक्षा गरेको छ।

यस्तै सार्वजनिक यातायात सेवामा विद्युतीय सवारी साधनहरुको संख्या वृद्धि भई सर्वसाधारणको पहुँच विस्तार हुने र पेट्रोलियम पदार्थको खपतमा कमी आउनुका साथै हरित गृह ग्यास उत्सर्जनमा कमी ल्याउने अपेक्षा गरिएको छ। सवारी साधनबाट हुने वातावरणीय प्रदूषणमा समेत कमी आउने विश्वास बैंकको छ।

बैंकले विद्युतीय सवारी साधन प्रवर्द्धन गर्न व्यक्तिगत प्रयोजनका सवारी साधनलाई पनि न्यूनतम ब्याजदरमा कर्जा प्रवाह गर्ने भएको छ। बैंकको ३५४ शाखा कार्यालय, ३७९ एटिएम, २७७ शाखा रहित बैंकिङ सेवा, ६७ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी एक हजार एक सयभन्दा बढी सेवा केन्द्र रहेका छन्।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार