दिसाजन्य लेदो व्यवस्थापन केन्द्र निर्माण गरी उप-महानगरपालिकालाई हस्तान्तरण

प्रशोधन केन्द्र निर्माण गर्न डीपीआर तयार, संघीय सरकारसँंग सहयोगको याचना

  वास खबर सम्वाददाता  491 पटक हेरिएको
🔗
55
Shares

नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिकामा दिसाजन्य लेदो व्यवस्थापनको लागि अस्थायी ट्रेन्च निर्माण गरी उपमहानगरपालिकालाई हस्तान्तरण गरिएको छ। उपमहानगरपालिकाको वडा नं. २० को बाबाघाटमा २४ लाख रुपैयाँ लागतमा अस्थायी ट्रेन्च निर्माण गरी उपमहानगरपालिकालाई हस्तान्तरण गरिएको हो।

एसएनभी नेपाल अन्तर्गत सञ्चालित खानेपानी, सरसफाइ तथा स्वच्छता दिगो विकास लक्ष्य (वास एसडिजी) परियोजनाको आर्थिक तथा प्राविधिक सहयोगमा अस्थायी ट्रेन्च निर्माण गरी उपमहानगरपालिकालाई हस्तान्तरण गरिएको हो।

दुई बिघा क्षेत्रफलमा रहेको अस्थायी ट्रेन्चमा ४० मिटर लम्बाइ, दुई मिटर उचाइ र १.२० मिटर चौडाइका १७ वटा खाल्डा खनिएका छन् ।

ट्रेन्च हस्तान्तरण कार्यक्रममा एसएनभी नेपालकी वास टिम लिडर नादिरा खवाजाले अस्थायी केन्द्र भए पनि नेपालगन्ज उपमहानगरपालिकाको सुरक्षित दिसाजन्य लेदो व्यवस्थापनको प्रयासलाई सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले दिसाजन्य लेदोका कारण मानवीय स्वास्थ्यमा पर्न सक्ने असरलाई न्यूनीकरण गर्न यसले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

दिसाजन्य लेदो व्यवस्थापन अस्थायी केन्द्र सञ्चालन भएसंँगै दिसाजन्य लेदो व्यवस्थापनको काम सुरु भएको नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टले बताउनुभयो । ‘दिसा विर्सजन गर्ने ठाउँ नहुँदा पहिले निकै समस्या थियो’ उहाँले भन्नुभयो ‘नेपालगन्ज उपमहानगरपालिकाले अस्थायी रूपमा दिसा विर्सजन गर्ने ठाउँ निश्चित गरेर सञ्चालनमा ल्याएसँगै अब खुला ठाउँमा दिसाजन्य लेदो फाल्नुपर्ने बाध्यात्मक अवस्थाको अन्त्य भएको छ ।’

मेयर विष्टले खुला ठाउँमा दिसाजन्य लेदो विसर्जन गर्दा त्यसले भूमिगत तथा सतही पानीको स्रोतलाई समेत दुषित बनाउने र संक्रामक रोगको महामारी फैलिने जोखिम रहेको बताउनुभयो । ‘यो समस्या समाधान हुनु नेपालगन्ज उपमहानगरपालिकाका लागि सुखद कुरा हो । घरायसी र स्वास्थ्यजन्य फोहोर व्यवस्थापन साइट यसअघि नै बनिसके पनि दिसाजन्य लेदो ब्यवस्थापन कसरी गर्ने भन्ने टाउको दुःखाइको बिषय भएको थियो’ उहाँले भन्नुभयो।

अहिले अस्थायी रूपमै संरचना बने पनि यसले निकै सहज हुने मेयर विष्टको भनाइ छ । ‘दिसाजन्य लेदो प्रशोधन केन्द्र निर्माण गर्न डम्पिङ साइट क्षेत्रमै डीपीआर भई काम अगाडि बढेको छ’ उहाँले भन्नुभयो।

स्थायी ट्रेन्च बनाउन संघीय सरकारसँंग पनि सहयोग मागेको र त्यसका लागि संघीय सरकारको सहयोग जुट्नेमा आशावादी रहेको उहाँले बताउनुभयो। हाल सञ्चालनमा आएको अस्थायी ट्रेन्च केन्द्रको नियमन र अनुगमन गर्नका लागि संयन्त्र बनाउने उपमहानगरपालिकाको योजना छ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार