यसकारण शौचालयको सेफ्टी ट्याङ्क र हाते पम्प अलग्गै हुनुपर्छ

🔗
12
Shares

काठमाडौ : तराईका जिल्लाहरु जहाँ भूमिगत पानीलाई ह्याण्ड पम्पको सहायताबाट तानेर खानेपानीको आपूर्ति गर्नुपर्छ, त्यहाँ शौचालय वा शौचालयको सेफ्टी ट्याङक बनाउँदा पनि विशेष ख्याल गर्नुपर्छ ।

तपाई हामीले खानेपानीमा दिसामा पाइने जीवाणु कोलिफर्म भेटिएका, दुषित खानेपानीका कारण अस्पतालको बास भएका र झाडापखालाका कारण ज्यान गुमाउनु परेका खबरहरु सुन्दै आएका छौं । हो, सुन्दै आएका यी कुराहरु तपाई हामीले भोग्न नपरोस् भनेर हामीले खानेपानीको स्रोतमा दिसाको जीवाणु मिसिन सक्ने अवस्थालाई यसको निर्माणको क्रममै सावधानी अपनाउनुपर्छ ।

शौचालय बनाउदा कतिले जग्गाको अभावमा त कतिले भने शौचालयको नजिकै खानेपानीको धारा हुँदा सजिलो हुने भएकाले पनि शौचालयको सेफ्टी ट्याङ्क सँगै हाते पम्प पनि जडान गरिएको हुन्छ ।

 

व्यवहारिक हिसाबले खानेपानीको धारा र शौचालय सँगै हुँदा सजिलो त होला तर प्राविधिक तथा स्वास्थ्यको दृष्टिकोणबाट शौचालय र धारा सँगसँगै निर्माण गर्नु घातक सिद्ध हुन्छ ।

शौचालयको सेफ्टी ट्याङ्कमा जम्मा हुने दिसाजन्य लेदो भूमिगत पानीको स्रोतमा मिसिन जाने र खानेपानी दुषित बनाउने हुँदा शौचालयको सेफ्टी ट्याङ्क र खानेपानीको स्रोत अलग अलग हुनुपर्ने बताउनुहुन्छ, सिनियर डिभिज्नल इन्जिनियर सिबेन्द्र झा ।

‘सेफ्टी ट्याङ्कको दिसाजन्य लेदो भूमिगत पानीको स्रोतमा मिसिन्छ । मिसिएको पानी हाते पम्पबाट तानेर पिउँछौं र दिसाजन्य लेदो मिसिएको पानीबाट पानीजन्य रोगहरु लाग्ने सम्भावना हुने भएकाले सेफ्टी ट्याङ्क र हाते पम्प अलगअलग बनाउनुपर्छ ।’ इन्जिनियर झाले भन्नुभयो ।

उहाँका अनुसार सकेसम्म समानान्तर रेखामा पर्ने गरी सेफ्टी ट्याङ्की र हाते पम्प बनाउनै हुँदैन भने अलि अलि भिरालो जस्तो जमिन भएमा पनि तलतिर हाते पम्प र माथितिर शौचालयको सेफ्टी ट्याङ्क बनाउँनु हुँदैन ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार