सिरहा : खुला ठाउँमा दिसा गर्नेलाई पक्राउ गरी विभिन्न रचनात्मक काम गराउँदै आएको सिरहाको सरसफाइ गस्तीले आज ४ जनालाई पक्राउ गरी जरीवाना तिराएको छ ।
सिरहा नगरपालिकाको वडा नं. २, ६ र ९ का ४ जनालाई पक्राउ गरी जनही ५/५ सय रुपैयाँ जरीवाना गराई आगामी दिनमा खुला दिसा नगर्ने शर्तमा छाडिएको टोलीका एक सदस्यले जानकारी दिएका छन् । खुला दिसा गरेबापत कार्वाहीमा परेका उनीहरुको नाम भने गोप्य राखिएको छ ।
गस्तीले टोलीले केही दिन अघि सिरहा नगरपालिकाको वडा नं. २ मा खुला ठाउँमा दिसा गरिरहेका चार जनालाई पक्राउ गरी सिरहा नगरपालिकाको वडा नं. ९ गुलरिया चोकमा रहेको सार्वजनिक शौचालय सफा गर्न लगाई छाडिएको थियो ।
सरसफाइ सम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दा समेत खुला ठाउँमा दिसा गर्ने क्रम नरोकिएपछि सिरहा नगरपालिकाको कार्यालय, सशस्त्र प्रहरी, नेपाल प्रहरी र युम्सको संयुक्त टोलीले हरेक विहान गस्ती गर्दै आएको छ ।


616 पटक हेरिएको 

