कालिकोट : चुलिमालिका बृहत खानेपानी आयोजनाको पानी कालिकोट सदरमुकाम मान्म ल्याईएको छ। खानेपानीको चरम अभाव भोग्दै आएको सदरमुकाम मान्म बजारमा पानी पुगेपछि बजारवासी खुसी भएका छन्। खानेपानी सदरमुकाममा पुगे पनि घर घरमा खानेपानी पुर्याउन अझै केही समय लाग्ने चुलिमालिका बृहत खानेपानी आयोजनाले जनाएको छ।
चुली खानेपानी आयोजना निर्माणका लागि तत्कालीन नगर प्रमुख जसीप्रसाद पाण्डेको विशेष पहलमा खानेपानी आयोजनाको काम सुरु गरिएको थियो। खानेपानीका साथै ढल व्यवस्थापनका लागि पहल गरेका पाण्डेले मान्मका जनताका लागि खानेपानी पुर्याउन सफल हुनुभएको हो।
खानेपानीका लागि सुख्खा रहेको वडा नम्बर १ देखि ४ सम्मका जनताका घरघरमा धारा निर्माण गरी खानेपानी पहुँच पुर्याउन आफू नगर प्रमुख भएको समयमा पटक पटक लागिपरेको उहाँले बताउनुभयो। ‘असम्भवका बीच पनि मान्म बजारमा पानी पुर्याउन सफल भयो’ उहाँले भन्नुभयो। पानीसँगै ढल व्यवस्थापनका लागि पनि काम भैरहेको उहाँको भनाइ छ।
चुलिमालिका बृहत आयोजनाले वडा नम्बर १ देखि ४ सम्मका १३ सय घरमा एक घर एक घाराको लक्ष्य राखेको छ। सदरमुकाम मान्ममा १ लाख २५ हजार लिटरका २ वटा, ५० हजार लिटरका २ वटा, ४० हजार लिटरको १ वटा र २५ हजार लिटरको १ वटा गरी जम्मा ६ वटा ट्याङ्की रहेका छन्। बजारदेखि गाउँसम्मको लाइन पनि व्यवस्थापन गरिएको छ।
खानेपानीको अभाव भईरहने मान्ममा चुलिमालिका बृहत् खानेपानी आयोजना नियमित रुपमा सुरु भएमा कालिकोटका नागरिकलाइ धेरै राहत हुने विश्वास गरिएको छ। २०७८ सालबाट निर्माण सुरु गरिएको आयोजनाको पानी शुक्रबार सदरमुकामको ट्याङ्कीमा खसालिएको हो।
संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाले २०७८ सालमा २८ करोडमा टेन्डर गरेको थियो । निर्माण कम्पनीले भने घटाएर १३ करोड ७१ लाख २९ हजार बजेटमा निर्माण कार्यको ठेक्का लिएको हो। आयोजनाको मुख्य पाइपलाइनको लम्बाइ साढे १० किलोमिटर भन्दा बढी रहेको निर्माण कम्पनी पराजुली कन्ट्रक्सन प्रालिका साइट सुपरभाइजर मानबहादुर थापाले बताउनुभयो।