
गुल्मी : गुल्मीको मुसिकोट नगरपालिकाको केन्द्र वडा नं ७ स्थित वामीटक्सार बजारमा डिप बोरिङ गरिएको छ। ७ नं. वडा कार्यालयले १ सय ४५ मिटर गहिराईबाट पानी तानेर बजारमा वितरण गर्न लागेको हो । बोरिङ प्रविधि मार्फत निकालिएको पानीको बिहिवार सफल परिक्षण गरिएको छ ।
वामीटक्सार स्थित जिपपार्क नजिकै सडक माथि डिप बोरिङब्ँटखानेपानी निकालिएको हो । भारतिय इन्जिनियरसहितको प्राविधिक टोलीले करिब एक महिना लगाएर उक्त क्षेत्रमा पानी भए नभएको परीक्षण गरेको थियो । त्यसपश्चात मेसिन सहित खाडल खनेर पाईप राख्ने काम भएको थियो ।
डिप बोरिङ मार्फत अहिले प्रति सेकेन्ड ७ देखि ९ लिटरका दरले पानी निस्किएको मुसिकोट नगरपालिकाका प्रवक्ता एवम् वडा नं ७ का वडाध्यक्ष हरिहर सापकोटाले जानकारी दिनुभयो । वामीटक्सार बजारमा अहिले लिफ्टिङ आयोजना मार्फत खानेपानीको आपूर्ति हुँदै आएको छ ।
गर्मीयाम सुरू भएसँगै बजारमा पानीको अभाव हुँदै आएको छ । त्यसको समाधान गर्न बोरिङ गरी पानी निकालिएको हो । अब बोरिङ मार्फत निकालिएको पानी एक घर एक धारामा जडान गरी वितरण गरिने वडाध्यक्ष सापकोटाको भनाई छ । बोरिङ गरी निकालिएको खानेपानीको शुद्धिकरण मापनका लागि प्रयोगशालामा समेत पठाईने उहाँको भनाई छ ।
१७० मिटर गहिराइबाट पानी निकाल्न ४ इन्चको पाइप गाडिसकिएको छ भने मोटर जडान गरिएको छ । उक्त आयोजना निर्माणका लागि २१ लाख खर्चको अनुमान गरिएकोमा १६ लाख रुपैयाँ मुसिकोट नगरपालिकाले विनियोजन गरेको र बाँकी ३० प्रतिशत भने उपभोक्ताको लगानी रहने वडाध्यक्ष सापकोटाले बताउनुभयो ।
वामीटक्सार बजारमा हाल करङखोला मौरीभिर खानेपानी संस्था मार्फत खानेपानी आपूर्ति हुँदै आएको छ । पिउनका लागि त्यति उपयुक्त नभएपछि पानी प्रशोधन गरेर मात्र वितरण गर्न शुद्धिकरण फिल्टर जडानको प्रक्रिया पनि अगँीड बढेको छ।


462 पटक हेरिएको 

