टुक्रे बजेटको नतिजा, ७ बर्षपछि बल्ल खानेपानी योजना सम्पन्न

  वास खबर सम्बादाता  345 पटक हेरिएको

धनकुटा : धनकुटाको साँगुरीगढी गाउँपालिका वडा नं. ७ महाभारतमा कुनैबेला खानेपानीको चरम समस्या थियो। स्थानीय विहान हुने वित्तिकै खानेपानी ल्याउनको लागि घण्टौंसम्म पैदल हिँडेर मुहानसम्म पुग्थे। पछिल्लो समय खडेरीको कारण नजिकका कुवा, पधेरो सुक्दै गए।

जसकारण पानी ल्याउन डेढदेखि दुई घण्टासम्म माखावा खोलासम्म पुग्नु पथ्र्याे। माखावा खोला पुग्न जाँदा ओरालो र फर्किदा उकालो हिँड्नु पर्थ्यो।

 

खानेपानीको समस्या बढ्दै गएपछि लिफ्टिङ खानेपानी योजना सञ्चालन भयो। क्रमागत योजना तथा बजेट अभावकै कारण उक्त खानेपानी योजना सम्पन्न गर्नका लागि झण्डै ७ वर्ष कुर्नुपर्‍यो। अहिले साँगुरीगढी ७ माखावा लिफ्टिङ खानेपानी योजनाको सफल परीक्षण गरिएको छ।

लिफ्टिङ प्रविधि सफल भएसँगै वर्षौदेखि भोग्दै आइरहेको खानेपानी समस्या सामाधन हुनेमा स्थानीय वासिन्दा ढुक्क देखिन्छन्। माखावा खोलादेखि १ हजार ३८९ मिटरको उचाईमा रहेको पोखरीडाँडामा लिफिटङ प्रविधिबाट पानी झारिएको छ।

माखावा खानेपानी उपभोक्ता तथा सरसफाई समितिका सचिव ओमप्रकाश राईका अनुसार खोलाबाट संकलन गरिएको पानीलाई दुई स्थानवाट लिफ्ट गरिएको छ। खोलादेखि ६३९ मिटर उचाईमा रहेको एप्मालामा रहेको करिव ५० हजार लिटर क्षमताको ट्याङ्कीमा झारिएको पानी संकलन गरेर पुनः त्यहाँदेखि ५५० मिटर उचाईमा रहेको पोखरीडाँडाको करिव ५० हजार लिटर ट्याङ्कीमा लगिएको छ। सो खानेपानी योजना २०७२ सालबाट निर्माण सुरु भएको थियो।

तर, बजेट अभाबमा सुस्त रहेको आयोजना खानेपानी तथा सरसफाई डिभिजन कार्यालय धनकुटामातहत आएपछि प्रदेश सरकारको ६ करोड ९ लाख २५ हजार रुपैयाँ लगानी भएको छ। योजनाबाट साविक महाभारत गाउँ विकास समितिका वडा नं. १, २, ३ र ४ वडाका २५० भन्दा बढी घरधुरी लाभान्वित हुने उपभोक्ता समितिका अध्यक्ष धर्मध्वज राईले बताउनुभयो।

खानेपानी योजनाबाट गोलखाडी, होङ्गकुटोल, लेक सिरान, खोङ्गजाली, खाक्चीराङ्ग, डढुवा, छिनामचोक, वैंका, गैरीटोल, खोलिम्फू, आसकोट गरी ११ वटा टोल समेटिनेछन्। खानेपानी अभावकै कारण बसाई सर्नुपर्ने स्थिति सम्म आएको थियो। अब त्यो समस्या हट्ने स्थानीयले बताएका छन्।

पोखरीडाँडामा संकलन गरिएको पानीलाई ६ स्थानमा ट्याङकी निर्माण गरि वितरण गरिनेछ। उपभोक्ताको घरसम्म पाइप विछ्याउने काम अगाडि बढिसकेको उपभोक्ता समितिले जनाएको छ। योजनालाई चाँडो निर्माण सम्पन्न गराउन गाउँपालिकाले खानेपानीको मुहानसम्म करिव डेढ किलोमिटर सडक सरफाई तथा ट्रयाक खोल्ने काम गरिदिएको थियो।  साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र राईले निर्माण सुरु भएको लामो समय वित्दा पनि खानेपानी योजना सम्पन्न नहुँदा यहाँका स्थानीय वासिन्दा निराश भएकोमा अब आशा पलाएको बताउनुभयो।

गाउँपालिकाको स्काइभेटरको सहयोगमा गोलखाडीदेखि खानेपानीको मुहानसम्म करिव डेढ किलोमिटर सडक सरफाई तथा ट्रयाक खोल्ने काम गरिएको थियो। उहाँका अनुसार गाउँपालिकाकै सवारी साधनवाट ट्रान्समिटर र पाइप ल्याइएको थियो। यो खबर अन्नपूर्ण पोस्ट दैनिकले प्रकाशन गरेको छ। ‘सफल लिफ्टिङ परिक्षणले स्थानीय खुसी मात्रै छैनन् वर्षौदेखिको खानेपानी समस्या दीर्घकालीन रुपमा समाधान हुनेमा ढुक्क देखिएका छन्’ अध्यक्ष रुम्दालीले भन्नुभयो।

 

 

 

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार