काठमाडौ : शिशुलाई खोप लगाउन खोप केन्द्रमा आउने आमालाई सरसफाइका विषयमा दिइएको शिक्षाले बाल मृत्युमा कमी आएको छ ।
स्वास्थ्य मन्त्रालय, बाल स्वास्थ्य महाशाखा र अन्तरराष्ट्रिय गैरसरकारी संस्था वाटर एडको आर्थिक एवं प्राविधिक सहयोगमा बर्दिया, जाजरकोट, नवलपरासी र म्याग्दीमा सञ्चालित सरसफाइ कार्यक्रमले बाल मृत्यु तथा पानीका कारणले हुने रोगमा उल्लेख्य कमी आएको भेटिएको हो ।
शिशुलाई खोप दिएपछि खोप केन्द्रमा आउने आमालाई कम्तीमा आधा घण्टादेखि एक घण्टासम्म राखेर स्तनपानको महत्व, बच्चाको दिशापिसाब विसर्जन गर्दा ध्यान दिनुपर्ने कुरा, पानी उमालेर खाँदा हुने फाइदा, शिशुलाई पौष्टिक तत्वको आवश्यकता, हात धुने तरिका लगायत विषयमा जानकारी दिइन्छ । यसले आमा र शिशु दुवैको स्वास्थ्यमा सकारात्मक प्रभाव देखिएको छ ।

नेपालमा वर्षेनी खोप सेवा लिने बालबालिका करिब छ लाख ३० हजार छन् । यस्ता बालबालिकालाई स्वास्थ्य मन्त्रालय अन्तर्गतका १६ हजार खोप केन्द्र मार्फत खोप सेवा दिइन्छ । खोपको पहुँचदर भने ७८ प्रतिशतभन्दा माथि उक्लन सकेको छैन ।
मन्त्रालयका प्रमुख विशेषज्ञ चिकित्सक सुशीलनाथ प्याकुरेलले आफ्ना शिशुलाई खोप लगाउन खोप केन्द्रमा जाने आमालाई सरसफाइका विषयमा ज्ञान दिँदा स्वास्थ्य शिक्षामा सकारात्मक प्रभाव परेको हुँदा यस्ता कार्यक्रमलाई सबै तहमा विस्तार गर्न मन्त्रालयले ध्यान दिएको बताउनुभयो ।
अर्का विशेषज्ञ चिकित्सक विनोदमान श्रेष्ठले फुर्सदका समयमा रहेका आमालाई सरसफाइ सम्बन्धीका ज्ञानले पानीजन्य रोगमा कमी तथा बाल स्वास्थ्यमा सुधार भएको बताउनुभयो ।
स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. राजेन्द्र पन्तले खोप सेवा लिन आउने शिशुका आमालाई सरसफाइका विषयमा ज्ञान दिने कार्यलाई प्राथमिकता दिइएको जानकारी दिनुभयो ।
यस्तै वाटर एडका चिकित्सक ओमप्रसाद गौतमले सरसफाइ प्रवद्र्धन मार्फत नियमित खोप कार्यक्रमले समुदायमा बालस्वास्थ्यका क्षेत्रमा उल्लेखनीय सुधार आएको हुँदा आगामी दिनमा कार्यक्रमलाई विस्तार गर्नुपर्ने बताउनुभयो ।


717 पटक हेरिएको 

