वातावरणीय सुधारका लागि विद्यार्थीहरुलाई सक्षम बनाउन बाबा परियोजना सुरु

  शिव श्रेष्ठ  825 पटक हेरिएको


काठमाडौं : सामुदायिक विद्यालयको समग्र वातावरणलाई स्वच्छ, सरसफाइयुक्त र फोहोरमुक्त बनाउन काठमाडौ महानगरपालिकाको दुई वटा सामुदायिक विद्यालयमा बाल बालबालिका र बातावरण ‘बाबा’ परियोजना सुरु भएको छ ।

विद्यार्थीमा सिकाई अनुरुप व्यवहारमा लागु गर्ने खालको सकारात्मक धारणाको विकास गर्ने, आफू बसेको वातावरणको बारेमा बुझ्ने, घर, विद्यालय र समुदायको वातावरणलाई सफा सुग्घर र सरसफाइयुक्त बनाउने र त्यस सँग सम्बन्धित विभिन्न ज्ञान, सीप र कौशल प्रदान गरी सो अनुकूल आचरण र व्यवहारमा रुपान्तरण गर्ने उद्देश्यले बाबा परियोजना सुरुवात गरिएको हो ।

एकिकृत शहरी बिकास केन्द्रको आयोजना तथा वातावरण व्यवस्थापन विभाग, काठमाडौँ महानगरपालिका, सामुदायिक परिचालन एकाइको समन्वयमा सुरुवात गरिएको यो परियोजना हालका लागि काठमाडौ महानगरपालिकाको वडा नं. २२ स्थित हिमालय माध्यमिक विद्यालय र वडा नं. १२ को श्री महेन्द्र सरस्वती सेवा आधारभुत विद्यालय गरी २ वटा सामुदायिक विद्यालयमा नमूना परियोजनाको रुपमा सञ्चालन गरिएको कार्यक्रम संयोजक समिक्षा भट्टराईले बताउनुभयो ।


पुस्तक भन्दा बाहिरको ज्ञान र वातावरणीय सुधारको क्षेत्रमा विद्यार्थीहरुलाई सक्षम बनाउने, फोहोर व्यवस्थापन, रिसाइकल, पुनः प्रयोग, अपसाइक्लिङ र अन्य धेरै गतिविधिहरू यसमा समावेश गरिएका छन्। काठमाडौँ महानगरपालिकाले राखेको लक्ष्यलाई हासिल गर्न कोकाकोला बेभरेज नेपालको आर्थिक सहयोग तथा एकिकृत शहरी बिकाश केन्द्रले यो कार्यक्रम कार्यान्वयन गर्नेछ ।

एकीकृत शहरी विकास केन्द्रका कार्यकारी निर्देशक नविन विकास महर्जनले सहभागीहरुलाई स्वागत गर्दै काठमाडौका २ वटा विद्यालयवाट यो परियोजना शुरुवात गरिएको र आगामी दिनमा सवै सामुदायिक विद्यालयहरु पनि कार्यक्रम संचालन गर्दै लैजाने बताउनुभयो।


मन्तव्यको क्रममा काठमाण्डौ महानगरपालिका, शहरी योजना आयोगका सल्लाहकार शैलेन्द्र झाले महानगरले यस्तो परियोजनामा बजेटको व्यवस्था गरेको र महानगरस्थित सवै सामुदायिक विद्यालयहरुमा बाबा परियोजना सशक्त रुपले कार्यान्वयन गर्दै लैजाने बताउनुभयो ।

यस्तै कोकाकोला बेभरेज नेपालका प्रतिनिधि स्नेह श्रेष्ठले कोकाकोलाले वास लगायत वातावरण संरक्षण क्षेत्रमा पनि विद्यालयहरु परिचालन मार्फत आफ्नो संस्थाको लगानीमा महत्वपुर्ण योगदान गरेको बताउनुभयो ।

उक्त कार्यशाला गोष्ठीको समापन श्री हिमालय माध्यामिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि डिल्ली रत्न शाक्यले परियोजनाले विद्यालयको स्तरोन्नतिको लागि ठुलो भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार