
काठमाडौ : कतिपय मानिसहरुले खोला, धारा, इनारबाट ल्याइएको पानी सोझै पिइरहेका हुन्छन् । तर, यसरी नउमालि, पियूष नहाली वा शुद्धिकरण नगरी प्रयोग गरिएको पानीमा ब्याक्टेरिया, भाइरस र परजीवी हुन सक्छन् । विभिन्न रोगको संक्रमण हुने जोखिम बढाउँछ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका टेकूका सरुवा रोज विशेषज्ञ डा. शेर बहादुर पुन भन्नुहुन्छ दूषित पानी खाँदा यसमा रहेका खतरनाक भाइरस र ब्याक्टेरियाले विभिन्न रोग फैलाउने सम्भावना रहन्छ । झाडापखाला, टाइफाइड, हेपाटाइटिस एरई लगायतका लक्षण बिरामीमा देखिन्छन्, त्यसैले पानी शुद्धिरण गरेर मात्र पिउनुपर्छ ।
दुषित पानीका कारण लाग्ने रोगहरु र यसबाट बच्ने उपायबारे यहाँ बर्णन गरिएको छ।
झाडापखाला
दूषित पानी वा खानाले निम्तने समस्यामध्ये मुख्य हो । यसले शरीरमा पानीको कमी गराउँछ । बारम्बार दिसा लागिराख्ने, बान्ता हुनेलगायत समस्या देखिन्छ । दिनमा चार–पाँचपटक वा त्यसभन्दा बढी पातलो दिसा भएमा झाडापखाला भएको हुन सक्छ । झाडापखालाका कारण शरीरबाट पानी, खनिज तत्व तथा पोषक तत्व खेर जान्छ । समयमै उपचार नपाउँदा ज्यान पनि जान सक्छ । यो रोग महामारीकै रूपमा फैलिएर समुदायलाई असर पुर्याउने सम्भावना पनि उत्तिकै छ ।
झाडापखाला लागेको अवस्थामा जलविनियोजन हुन नदिन पुनर्जलीय झोल (जीवनजल वा नुन–चिनी–पानी), झोल तरकारी, गेडागुडीलगायत खानुपर्छ । संक्रमितको मलमूत्र पानी वा खानामा मिसिएर, फोहोर तथा सडेगलेका खानेकुरा खाँदा, झिँगाको माध्यमबाट, फोहोर पानी खाँदा वा प्रयोग गर्दा, फोहोर हात तथा भाँडाकुँडाबाट झाडापखाला फैलन सक्ने भएकाले सतर्क रहनुपर्छ ।
हेपाटाइटिस ए
दूषित पानीले संक्रमित गराएर समस्याका रूपमा हेपाटाइटिस ‘ए’ देखिन सक्छ । हेपाटाइटिस ‘ए’ भएको शंका लाग्नासाथ उपचार थाल्नुपर्छ । समयमै उपचार नगर्दा यसले अन्य जटिलता निम्त्याउन सक्छ । अचानक ज्वरो आउने, छाला पहेँलो हुने, थकान, शरीर दुख्ने, पिसाब पहेँलो हुने, पेट दुख्ने, बान्ता, अरुचिलगायत लक्षण देखिन सक्छन् ।
टाइफाइड
दूषित पानीले संक्रमित गराएर लक्षणका रूपमा टाइफाइड देखिन सक्छ । टाइफाइडको शंका लागेमा नजिकको स्वास्थ्य संस्था वा चिकित्सकसँग परामर्श गरेर उपचार थालिहाल्नुपर्छ । अन्यथा यसले जटिलता निम्त्याउन सक्छ । उच्च ज्वरो, थकान महसुस हुने, मांसपेशी दुख्ने, अत्यधिक पसिना आउने, भोक लाग्ने, लगातार तौल घट्नेलगायत लक्षण देखिन्छन् । सरसफाइमा ध्यान दिने, स्वच्छ पानी र खाना खानुपर्छ ।
कसरी बच्ने त ?
पानीजन्य रोगहरुाबट बच्ने एउटै उपाय हो, खानेपानीको शुद्धिकरण र सरसफाइयुक्त वातावरण । त्यसैले पिउने पानी निर्मलीकरण गरेर मात्रै पिउनुपर्छ । झनै बर्षाको समयमा खानेपानीको मुहान प्रदूषित हुने, ढलको पाइप फुटेर खानेपानीको पाइपमा मिसिने लगायतका समस्या देखिन सक्छ ।

रोगका किटाणुहरू पानीमा मिसिएका हुन सक्छन् । दूषित पानीले विभिन्न संक्रमणहरू फैलाउन सक्छ । यसले महामारीकै रूप पनि लिन सक्ने जोखिम छ । यसबाट निम्तने संक्रमणहरूको लक्षणमा ज्वरो, झाडापखाला लगायत पर्छन् । कतिपयमा हेपाटाइटिस ए/ई पनि देखिन सक्छ ।
तसर्थ उमालिएको, पीयूष हालेको वा अन्य विधिबाट निर्मलीकरण गरिएको पानी मात्रै पिउनुपर्छ । धाराबाट ल्याइएको पानी सोझै प्रयोग गर्नुहुँदैन । जारको पानी पनि निर्मलीकरण गरेर मात्रै प्रयोग गर्नुपर्छ । बाढी पहिरो ग्रस्त क्षेत्रमा पनि विभिन्न समस्या देखिएका हुन्छन् । यहाँका जनता आफैँ पीडित भएकाले धेरै कुरामा ध्यान दिन सकिरहेका हुँदैनन् । यस क्षेत्रमा जनचेतना फैलाउने तथा दाताहरूले पानी वितरण गर्दा निर्मलीकरण गरेर मात्रै गर्ने गर्नुपर्छ ।

सरसफाइमा ध्यान दिने
बाढी, पहिरो, डुबान लगायत कारणले सफा पानी उपलब्ध नहुँदा कहिलेकाहीँ मानिसले फोहोरपानीमै फलफूल वा तरकारी पखालेर खान्छन् र रोग फैलन सक्छ । त्यसैले
√ खाना खानुअघि, चर्पी गएर आएपछि साबुनपानीले हात धुनुपर्छ ।
√ घरवरपरको वातावरण सधैँ सफा राख्नुपर्छ । व्यक्तिगत सरसफाइमा ध्यान दिनुपर्छ ।
√ फोहोर विसर्जन राम्रोसँग गर्नुपर्छ । शौचालय सधैँ सफा राख्नुपर्छ ।


544 पटक हेरिएको 

