नगरकोट : खानेपानी तथा ढल निकास विभागको वातावरणीय सरसफाइ शाखाका प्रमुख प्रेमकृष्ण श्रेष्ठले कुनै समय भक्तपुरको नेवार समुदायमा भ-याङमुनि पिसाब फेर्ने चलन रहेको र अहिले हटिसकेको बताउनुभएको छ ।
पिसाबलाई मलको रुपमा प्रयोग गर्ने चलन परापूर्वकालदेखि नै रहँदै आएको प्रसंग जोड्दै उहाँले पिसाबमा बोटविरुवाका लागि आवश्यक पर्ने नाईट्रोजन, फस्फोरस र पोटास पाइने भएकाले अहिले पनि केही समुदायले इकोसान शौचालय बनाई पिसाबलाई मलको रुपमा प्रयोग गरिरहेको बताउनुभयो ।
खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ (फेडवासन) र खानेपानी तथा ढल निकास विभागले संयुक्त रुपमा भक्तपुरको नगरकोटमा आयोजना गरेको खानेपानी तथा सरसफाइ क्षेत्रको अवस्था तथा सञ्चार माध्यमको भूमिका विषयक कार्यक्रममा प्रमुख श्रेष्ठले भन्नुभयो ‘नेवार समुदायले दिउँसो दिसापिसाब लागे बाहिर गरिन्थ्यो, तर रातको समयमा दिसापिसाब आएमा भ-याङमुनि सानो खाल्डो हुन्थ्यो, त्यसमा खरानी राखेर पिसाब गरिन्थ्यो, अनि त्यो खरानी प्याज, लसुन तथा अन्य तरकारीमा मलको रुपमा हालिन्थ्यो, यसलाई नेवारी भाषामा ‘नौगा’ भनिन्थ्यो ।

नेपालको २५ प्रतिशत नागरिकले फेर्ने पिसाबलाई जम्मा गरी मलको रुपमा प्रयोग गर्न सके १ गेडा पनि रासायनिक मलको प्रयोग गर्नु नपर्ने अध्ययनले देखाएको उहाँले बताउनुभयो । ‘पेटको खेतमा, खेतको पेटमा साँच्चिकै सबैले यसो गर्यौं भने मानिसको मलमूत्र विसर्जनका लागि भइरहेको ठूलो धनरासी जोगाउन सकिन्छ’ श्रेष्ठले भन्नुभयो ।
उहाँका अनुसार देशभर ३ हजार इकोशान शौचालय बनेका छन् ।
आँगनमा पुग्यौं, ढोका खोल्न सकेनौं
सरकारले सन् २०१७ भित्र सबै नागरिकको घरमा आधारभूत स्तरको खानेपानी र सरसफाइ सुविधा पु-याउने राष्ट्रिय लक्ष्य पूरा गर्न नसकेपनि लक्ष्य नजिक पुगेको भन्दै प्रमुख श्रेष्ठले भन्नुभयो ‘हामी आँगनमा पुग्यौं, ढोका खोल्न सकेनौं ।’
सरसफाइ अभियानलाई परिक्षासँग तुलना गर्दै उहाँले भन्नुभयो ‘हामी परिक्षा नजिक आयो भने धेरै पढ्छौं, सरसफाइको सवालमा पनि त्यस्तै भइरहेको छ, अहिले सरसफाइ गतिविधिहरु तीब्र भएका छन् ।
विहान पाँच बजे नै खुला दिसा गर्नेहरुलाई टर्च देखाउने, मोटरसाइकलको हेडलाइट बालिदिने, लोटा खोस्ने, दिउँसो घरदैलो कार्यक्रम गर्ने, चर्पी निर्माण गर्ने विधि सम्बन्धी भिडियो देखाउने लगायतका काम भइरहेका छन् ।’
यही गतिमा काम हुने हो भने पहिले नै खुलादिसामुक्त राष्ट्र बनिसक्ने भन्दै उहाँले लक्ष्य पूरा गर्न नसकेपनि बाँकी तीन दिनमा सरसफाइको प्रगति ९६ प्रतिशत पार गर्ने दाबी गर्नुभयो ।
अहिलेसम्म ९४.७४ प्रतिशत नागरिकको घरमा आधारभूत स्तरको सरसफाइ सुविधा पुगेको खानेपानी तथा ढल निकास विभागले जनाएको छ । विभागका अनुसार ४४ वटा जिल्ला र करिब ५५० गाउँपालिका र नगरपालिका खुलादिसामुक्त भइसकेका छन् ।


910 पटक हेरिएको 

