
काठमाडौ : खानेपानी तथा ढल व्यवस्थापन विभागले आर्सेनिक लगायत रासयनिक प्रदुषण हटाउन नमुना कार्यक्रम सञ्चालन गर्ने भएको छ । खानेपानीको गुणस्तर सुधार गर्न विभागले आर्सेनिक, एमोनिया लगायत रासयनिक प्रदुषण नियन्त्रण गर्न लागेको हो ।
पानीमा रहेको रासयनिक प्रदुषणहरु नियन्त्रण गर्न अत्याधुनिक शुद्धिकरण प्रविधि अपनाईने खानेपानी तथा ढल व्यवस्थापन विभाग, गुणस्तर सुधार तथा सेवा नियमन शाखाका प्रमुख सिडिई पूर्ण प्रसाद उपाध्यायले जानकारी दिनुभयो ।
रासयनिक प्रदुषण नियन्त्रण र शुद्धिकरण प्रविधि प्रबर्द्वनका लागि विभाग आफैले कार्यान्वयन गर्ने कार्यक्रमका लागि चालु आर्थिक ५० लाख रुपैयाँ विनियोजन गरेको छ ।
यस्तै संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना मकवानपुरले समेत पाइलटिङको रुपमा नवीन प्रविधिमा आधारित प्रशोधन प्रणालीको डिजाइन तथा निर्माण गर्ने भएको छ। विशेषगरी खानेपानीमा घुलनशील रहेको आर्सेनिक, एमोनिया र हार्डनेस हटाउने गरी संयन्त्र निर्माण गरिने संघीय खानेपानी तथा ढल ब्यबस्थापन आयोजना मकवानपुरले जनाएको छ । उक्त संयन्त्र निर्माण गर्न १ करोड २० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ।
पछिल्लो समय खानेपानीमा आर्सेनिक, एमोनिया लगायत रासायनिक प्रदुषणहरु देखिन थालेको छ। रासायनिक प्रदुषणहरु खासै परिवर्तन भैरहने नभए पनि पहिले नदेखिएका रासयनिक तत्वहरु समेत देखिएकाले यस क्षेत्रमा व्यापक अध्ययन, अनुसन्धानको खाँचो रहेको विज्ञले औल्याएका छन् ।

सन् २००२ देखि २००८ सम्म तराईको २० जिल्लामा ट्युवेल, इनार र डिपबोरिङ गरी ११ लाख १ हजार ५ सय पानीको नमुना परिक्षण गर्दा थोर बहुत सबै जिल्लाको पानीमा आर्सेनिक भेटिएको थियो। ती मध्ये ७.१ प्रतिशत पानीमा विश्व स्वास्थ्य संगठन (डब्लु.एच.ओ.) ले तोकेको मापदण्ड (०.०१ मिलीग्राम प्रति लिटर अर्थात १० पिपीबी) भन्दा बढी आर्सेनिक भेटिएको थियो भने १.७३ प्रतिशत पानीको स्रोतमा राष्ट्रिय खानेपानी गुणस्तर मापदण्ड २०७९ ले तोकेको मापदण्ड (०.०५ मिलीग्राम प्रति लिटर अर्थात ५० पिपीबी) भन्दा बढी देखिएको थियो ।
तराईका ती जिल्लाहरुको स्यालो अक्वाफायरमा मात्र आर्सेनिक भेटिएको थियो भने डिप अक्वाफायरमा आर्सेनिकको मात्रा भेटिएको थिएन । हाते ट्युवेलमा आर्सेनिकको उच्च जोखिम भएकाले पानीको परिक्षण गरी आर्सेनिकको सघनन् सीमा भित्र भए मात्र पिउन विज्ञले सुझाव दिएका छन्।


601 पटक हेरिएको 

