रसुवा : रसुवालाई भोलि (आइतबार) खुला दिसामुक्त जिल्ला घोषणा गरिने भएको छ । जिल्लाको पाँच वटै स्थानीय तहमा बसोबास गर्ने सबैको घरमा चर्पी निर्माण भई प्रयोगमा आएपछि खुला दिसामुक्त जिल्ला घोषणा गर्न लागिएको हो ।
रसुवाका पाँच वटा गाउँपालिकामा बसोबास गर्दै आएका ११ हजार ४ सय ३६ घरमै चर्पी निर्माण भएकाले खुला दिसामुक्त जिल्ला घोषणा गर्न लागिएको जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति रसुवाले जनाएको छ ।
समितिका अनुसार १० हजार ८ सय ४३ घरले निजी चर्पी निर्माण गरेका छन् भने पाँच सय ९३ घरले साझा शौचालय प्रयोग गरिरहेका छन् ।
२०६८ सालमा जिल्लामा ४० प्रतिशत घरमा चर्पी निर्माण भएर प्रयोग भइरहेकोे पाइएको थियो । रसुवा जिल्लाको सरसफाइ रणनीतिक योजना २०६९ मा उल्लेख भए अनुसार सो समयमा जिल्लामा करिब ४० प्रतिशत घरमा मात्र चर्पी बनेका थिए ।
रसुवालाई सन् २०१६ भित्रै खुला दिसामुक्त गर्ने लक्ष्यका साथ अभियान सञ्चालन गरिए पनि भूकम्प लगायत अन्य कारणले ढिलाई भएको जिल्ला समन्वय समितिका कार्यक्रम अधिकृत तथा जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिका सम्पर्क व्यक्ति लिलानाथ नेपालले बताउनुभयो ।
९८ प्रतिशतबाट २२ मा झरेको रसुवा यसरी पुग्यो १०० प्रतिशत
अभियान सुरु भएको करिब तीन वर्षमा रसुवाको साबिकका ४ ओटा गाविस खुला दिसामुक्त घोषणा गरिएको थियो । २०७१ चैत मसान्त सम्ममा साविकका १८ गाउँ विकास समिति मध्ये बृद्धिम, टिमुरे, धुन्चे र यार्सा खुला दिसाम्ुक्त भइसकेका थिए । त्यतिबेला गोल्जुङ, धैवुङ, लहरेपौवा, डाँडागाउँ र ठूलोगाउँ गरी ५ वटा साविकका गाविसहरु खुल्ला दिसामुक्त घोषणाको अन्तिम चरणमा पुगेका थिए ।
त्यसबेला ७४ प्रतिशत घरमा शौचालयको पहुँच पुगेको थियो । २०७२ बैशाख १२ गते गएको भूकम्पले ९८ प्रतिशत घर र ७० प्रतिशत शौचालयमा क्षति पुगेको थियो । भूकम्पले करिब २२ प्रतिशतमा झरेको सरसफाइलाई बढाएर १०० प्रतिशत पुगेपछि खुलादिसामुक्त जिल्ला घोषणा हुन लागेको जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिका सम्पर्क व्यक्ति लिलानाथ नेपालले बताउनुभयो ।
भूकम्प गएपछि खोपानी तथा सरसफाइको क्षेत्रमा काम गर्नका लागि भित्रएका एक दर्जनभन्दा बढी संघसंस्थाले सहयोग गरेसँगै खुला दिसामुक्त अभियानले सार्थकता पाएको जिल्ला समन्वय समिति रसुवाका प्रमुख एवं समितिका अध्यक्ष कुलप्रसाद भट्टले बताउनुभयो ।


642 पटक हेरिएको 

