जनकपुरधाम : धनुषाको साविक पौडेश्वर गाविसलाई शनिवार खुल्ला दिसामुक्त क्षेत्र घोषणा गरिएको छ । औरही गाउँपालिका वडा नं. १ तथा साविक पौडेश्वर गाविसलाई जिल्लाको ५० औं खुल्ला दिसामुक्त क्षेत्र घोषणा गरिएको छ ।
जिल्ला स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति (डिवाससिसि) ले पौडेश्वरलाई जिल्लाको ५० औं खुल्ला दिसामुक्त क्षेत्र घोषणा भएको प्रमाण–पत्र प्रदान गरिएको छ ।
गाउँ स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति (भिवाससिसि) पौडेश्वरका अध्यक्ष तथा वडा अध्यक्ष अशेश्वर यादवको अध्यक्षता तथा औरही गाउँपालिकाका अध्यक्ष ब्रह्मदेव यादवको प्रमुख आतिथ्यमा खुल्ला दिसामुक्त घोषणा गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि औरही गाउँपालिकाका अध्यक्ष यादव तथा डिवाससिसि कार्यदल संयोजक एवं विशिष्ट अतिथि विजय कुमार यादवले वडा अध्यक्ष अशेश्वर यादवलाई खुल्ला दिसामुक्त क्षेत्र घोषणा भएको प्रमाण पत्र प्रदान गर्नुभएको थियो ।
समारोहमा प्रमुख अतिथि र विशिष्ट अतिथिले खुल्ला दिसामुक्तको प्रतिक मानिने हरियो झण्डा फहराएका थिए । सो कार्यक्रममा विशेष अतिथि तथा डिवाससिसिका कार्यदल सदस्य एवं यूएन ह्याविट्याटकी धनुषा संयोजक उमा सिम्खडा, समाज विकास पथ नेपालका कार्यकारी निर्देशक एवं अभियानका टिम लिडर सत्यनारायण साह, स्थानीय राजनीतिक दलका प्रतिनिधी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

यता खुल्ला दिसामुक्त घोषणा समारोहको अवसर पौडेश्वरलाई खुल्ला दिसामुक्त बनाउन अभियानमा महत्वपूर्ण सहयोग गर्ने भिवाससिसि पदाधिकारी, युवा, महिलाहरु लगायत दर्जर्नौ अभियन्तालाई डिवाससिसि र भिवाससिसिले कदर पत्र सहित सम्मान गरेको छ ।
भिवाससिसिको तथ्यांक अनुसार देउरी परवाहामा कुल १२ सय १६ घरधुरी रहेको छ । सबै घरधुरीमा वाटरसील प्यान सहितको सुरक्षित चर्पी निर्माण गरी खुल्ला दिसामुक्त क्षेत्र घोषणा गरिएको भिवाससिसिले जनाएको छ ।
अभियान शुरु गर्नुभन्दा पहिले २ सय ६१ घरधुरीमा मात्र चर्पी रहेको पौडेश्वरमा अभियानको क्रममा ९ सय ५५ घरधुरीमा नयाँ चर्पी निर्माण गरिएको छ । पौडेश्वरमा जि.एस.एफ/यू.एन.ह्याविट्याटसँगको साँझेदारीमा समाज विकास पथ नेपालले सहजीकरण गरेको थियो भने भिवाससिसिको अगुवाईमा खुल्ला दिसामुक्त अभियान संचालन गरिएको भिवाससिसिले जनाएको छ ।


1014 पटक हेरिएको 

