हिमाली जिल्ला ‘रसुवा’ बन्यो, ४५ औं खुला दिसामुक्त जिल्ला

रसुवा : रसुवा खुला दिसामुक्त जिल्ला घोषणा भएको छ । जिल्लामा रहेका सम्पूर्ण घरमा शौचालय निर्माण भएर प्रयोगमा ल्याइएपछि राष्ट्रिय सरसफाइ तथा स्वच्छता समन्वय समितिका अध्यक्ष ज्योति कुमार श्रेष्ठ, खानेपानी तथा ढल निकास विभागका उप महानिर्देशक मनोज घिमिरे, जिल्ला स्थित सरकारी तथा गैरसरकारी संस्थाका प्रमुख तथा प्रतिनिधिको उपस्थितिमा खुला दिसामुक्त जिल्ला घोषणा गरिएको हो ।

रसुवा ४५ औं खुला दिसामुक्त जिल्ला बनेको छ । यसअघि कन्चनपुरलाई ४४ औं खुला दिसामुक्त घोषणा गरिएको थियो ।

पाँच ओटा गाउँपालिका रहेको रसुवामा ११ हजार चार सय ३६ घरले निजी तथा सामुहिक शौचालय प्रयोग गरिरहेका जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिले जनाएको छ । समितिका अनुसार पाँच सय ९३ घरले साझा शौचालय प्रयोग गरिरहेका छन् भने बाँकीको घरमा निजी शौचालय निर्माण भएको छ ।

जिल्लामा करिब साढे २ वर्षमा नै ७८ प्रतिशत घरमा शौचालय निर्माण भएर प्रयोगमा आउनु खुशीको कुरा रहेको समितिका अध्यक्ष कुलप्रसाद भट्टले बताउनुभयो । ‘भूकम्प जानुभन्दा अघि ७४ प्रतिशत शौचालय निर्माण भइसकेको थियो, भूकम्पले ५२ प्रतिशत शौचालय भत्कियो’ उहाँले भन्नुभयो । भूकम्पपछिको साढे दुई वर्षमा जिल्लामा करिब २७ प्रतिशत निजी आवास निर्माण भएपनि शौचालय भने शत प्रतिशत बनेको हो ।

तत्कालीन समयमा १८ ओटा गाविस रहेको जिल्लामा पहिलो चरणमा चार ओटा गाविस खुला दिसामुक्त घोषणा गरिएको थियो भने पाँच ओटा गाविस खुला दिसामुक्त घोषणाको अन्तिम चरणमा पुगेका थिए ।

समितिका सम्पर्क व्यक्ति लिलानाथ नेपालका अनुसार २०७१ चैत मसान्त सम्ममा बृद्धिम, टिमुरे, धुन्चे र यार्सा खुला दिसामुक्त घोषणा गरिएको थियो । गोल्जुङ, धैवुङ, लहरेपौवा, डाँडागाउँ र ठूलोगाउँ गरी ५ वटा साविकका गाविसहरु खुल्ला दिसामुक्त घोषणाको अन्तिम चरणमा पुगेका बेलामा भूकम्पले क्षति गरेको उहाँको भनाई थियो ।

भूकम्प गएपछि खानेपानी तथा सरसफाइ क्षेत्रमा काम गर्न जिल्ला भित्रिएका संघसंस्थाले अभियान सञ्चालनमा सहयोग पु-याएका कारण अभियान सफल भएको हो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार