काठमाडौ : नवनिर्वाचित प्रदेशसभा सदस्य कुसुम कुमार कार्कीले रुद्रमती अर्थात् धोबीखोलाको पानी पिउन र नुहाउन योग्य बनाउन आफूले पहल गर्ने बताउनुभएको छ ।
बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित नीलोपुलका बासिन्दासँग आज बिहान भेटघाट कार्यक्रममा उहाँले त्यसका लागि प्रशोधन कारखाना राख्न जग्गा खोजी प्रक्रिया अगाडि बढाइने जानकारी दिनुभयो ।
काठमाडौँ निर्वाचन क्षेत्र ४(ख) बाट निर्वाचित सदस्य कार्कीले नीलोपुल क्षेत्रमा सुरक्षाका लागि सिसिटिभी क्यामरा राख्न तथा स्थानीयको आय आर्जन र रोजगारीका साथै जैविक वस्तुको उपभोग गर्न गराउन आफ्नो सहयोग रहने स्पष्ट पार्नुभयो ।
आफ्नो क्षेत्रको विकासका लागि छिट्टै शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन लगायत विषयका विज्ञहरुको छुट्टा छुट्टै समूह बनाई क्रियाशील गराइने, स्थानीय तहका समस्या समाधान र विकासका लागि सोही तह (बूढानीलकण्ठ नगरपालिका) सँग आफूले समन्वय गर्ने आश्वासन पनि उहाँले दिनुभयो ।
नीलोपुल टोल सुधार समितिका अध्यक्ष रामजी खड्का तथा बुद्धिजीवी सुरेश निरौला, थरेन्द्र बराल, सञ्जीव लामा, भगवती गिरी लगायतले नीलोपुलको सुधार, सुरक्षा र पानीको समस्याका विषयमा प्रदेश सदस्य कार्कीलाई अवगत गराउनुभएको थियो ।
रासस


793 पटक हेरिएको 

