बञ्चरेडाँडा ल्यान्डफिल साइटमा सीसीटीभी जडान, महानगरपालिका कार्यालयबाटै निगरानी हुने

  वास खबर सम्वाददाता  223 पटक हेरिएको

काठमाडौं : बञ्चरेडाँडा सेनेटरी ल्यान्डफिल साइटको सीसीटीभी क्यामराबाट निगरानी गर्न थालिएको छ। ल्यान्डफिल साइटमा प्रवेश गर्ने सवारी साधन तथा व्यक्ति प्रवेश सहितका क्रियाकलापमा निगरानी गरेर सम्भावित अनधिकृत क्रियाकलाप रोक्न प्रणाली जडान गरिएको हो। संस्थागत सुधारको कार्यक्रम मध्ये कार्य सञ्चालन हुने ठाउँका विषयमा जानकारी तथा सूचना अब काठमाडौं प्लाजाबाटै लिईनेछ।

क्यामराबाट प्राप्त दृश्य महानगरका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारको कार्य कक्षबाट निगरानी हुनेछ । यससँगै वातावरण व्यवस्थापन विभागमा पनि दृश्य हेर्न सकिने बनाइएको छ ।

‘स्वचालित प्रणाली बढाएर संस्थागत सुदृढीकरण गर्ने क्रममा ल्यान्डफिल साइटमा अत्याधुनिक सीसीटीभी क्यामरा जडान गरिएको हो’, प्रमुख प्रशासकीय अधिकृत परियारले भन्नुभयो । साइट व्यवस्थापनको काममा खटिएका जनशक्ति, कार्यालय, साइटमा पुग्ने सडक, सुरक्षा वुथ देखिने गरी क्यामरा राखिएका छन् । वातावरण व्यवस्थापन विभागका प्रमुख सरिता राईले ९ वटा क्यामराका दृश्यबाट साइटको निगरानी हुने बताउनुभयो।

पछिल्लो समयमा जडान गरिएका क्यामरा अटोमेटिक नम्बर प्लेट रिकोग्निजेसन (एएनपीआर) क्यामरा हुन् । सूचना प्रविधि विभागका प्रमुख अनिरुद्र नेपालका अनुसार यसबाट भिडियोको आवाज पनि सुन्न सकिनेछ । यसले डिजिटल मात्र होइन, हातैले लेखेका नम्बर प्लेट पनि पढ्न सक्छ । नेपाली अक्षरबाट लेखिएको नम्बर प्लेट पनि पढ्न र रेकर्ड राख्न सक्ने उहाँले बताउनुभयो।


फोहोर व्यवस्थापन हुने गरेको ल्यान्डफिल साइट नुवाकोट र धादिङ जिल्लाको सीमाना बञ्चरेडाँडामा छ । बञ्चरेडाँडा ल्यान्डफिलसाइटमा काठमाडौं र ललितपुरका साथै अन्य नगरपालिकाबाट दैनिक एक हजार पाँच सय टन फोहोर व्यवस्थापन हुने गरेको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार