सन्जु तिमल्सिना, मुगु
मुगुको कर्णाली माध्यमिक विद्यालय टोप्लामा जिल्लाकै नमुना शौचालय निर्माण गरिएको छ । संयुक्त राष्ट्रिय संघ वालकोष युनिसेफको आर्थिक सहयोग र हिरिसडेक मुगुको सहजीकरणमा छात्र छात्रामैत्री शौचालय निर्माण गरिएको हो ।
विद्यालय खानेपानी, सरसफाइ तथा स्वच्छता र पूर्ण सरसफाइ प्रवद्र्धन परियोजना अन्तर्गत निर्मित शौचालयमा छात्र छात्रालाई पिसाब गर्ने ठाउँ छुट्टै निर्माण गरिएको छ ।

शौचालयमा पिसाब संकलन केन्द्र र इन्सिनेरेटर पनि निर्माण गरिएको हिरिसडेक मुगुका अध्यक्ष मिन बहादुर रावलले बताउनुभयो । शौचालय निर्माणबाट ३२४ छात्र र ३११ छात्रा र शिक्षकहरु लाभान्वित भएका छन् ।
९ लाख ८ हजार ३५६ रुपैयाँको लागतमा निर्मित शौचालयलाई यही पुस १९ गते विद्यालयलाई हस्तान्तरण गरिएको छ । शौचालय हस्तान्तरण कार्यक्रममा बोल्दै छायाँनाथ रारा नगरपालिकाका मेयर हरिजंग शाहीले नमुना शौचालयले विद्यालयको पठनपाठनमा समेत सघाउ पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले कर्णाली मावि टोप्लामा जस्तै जिल्लाका अन्य सामुदायिक विद्यालयमा समेत छात्रछात्रामैत्री शौचालय निर्माण गर्नुपर्ने आवश्यकता औल्याउनुभयो ।

मेयर शाहीले युनिसेफ र हिरिसडेक मुुगुको कार्यको प्रशंसा गर्दै अरु विद्यालयमा पनि सुविधा सम्पन्न शौचालय निर्माण गर्न आग्रह गर्नुभयो ।


874 पटक हेरिएको 

