विनोद धौलागिरि, झापा
झापाका स्थानीय तह खुल्ला दिसामुक्त अभियानलाई अगाडि बढाउन आक्रामक बन्दै गएका छन् । उनीहरुले चर्पी नहुनेलाई उपभोक्ता समितिमा नराख्ने देखि खुल्ला ठाउँमा दिसा गर्नेलाई नगद जरिवाना समेत गर्ने निर्णय गरेका छन् ।
‘अहिलेसम्म खुल्ला दिसामुक्त अभियानका लागि वातावरण बनाउने र माहोल तताउने काम मात्र भैरहेको थियो, कचनकवल गाउँपालिका, वडा नं. ५ का सचिव विमल पोखरेल भन्नुहुन्छ ‘हतियार बनाउनका लागि फलामलाई लगाए जस्तै खुल्ला दिसामुक्त अवस्था हासिल गर्नका लागि पनि लगाउनैपर्ने रहेछ, यसका लागि सानोतिनो तापले नपुग्ने रहेछ ।’
टोल निगरानी समिति गठन
पाठामारीमा बसेको वडास्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिले पाठामारीलाई एक महिनाभित्र खुल्ला दिसामुक्त अवस्थामा पु-याउनका लागि वडा सदस्यहरुको संयोजकत्वमा तीन वटा टोल निगरानी समिति समेत गठन गरेको छ ।
वडाध्यक्ष महेशलाल गणेशका अनुसार टोल निगरानी समितिहरुले पहिलो चरणमा आफ्नो घरमा सुरक्षित शौचालय निर्माणका लागि पत्राचार गरिएका घरधुरीमा पत्रको फलोअप गर्नेछन् भने सचेतीकरणका साथै प्राविधिक सहयोग गर्ने र अटेरीहरुलाई सम्झाइ बुझाइ गर्ने काम र अनुगमन गर्ने काम समेत निगरानी समितिले नै गर्नेछन् ।
चिया बगान र इटा भट्टामा समेत व्यवस्थित शौचालय नभएको र त्यहाँका मजदुरहरु खुल्ला स्थानमा दिसा पिसाव गर्ने गुनासो बढिरहेको समयमा पाठामारीमा उद्योगका प्रतिनिधिहरुलाई समेत अनुगमन समितिमा समावेश गरिएको छ ।
‘जसले समस्या सिर्जना गरेको छ, उसैले समाधान गर्नुपर्छ’ सचिव विमल पोखरेल भन्नुहुन्छ ‘यसैले उद्योगका प्रतिनिधिहरुलाई समेत अनुगमन समितिमा राखिएको छ ।’
खुल्ला ठाउँमा दिसा गर्ने सामाजिक अपराधी
सरकारले खुल्ला ठाउँमा दिसा गर्ने कार्यलाई सामाजिक अपराध मानेको तथ्यलाई मध्यनजर गर्दै पाठामारीले समेत खुल्ला दिसा गर्ने व्यक्तिलाई सामाजिक अपराधी मानी सामाजिक वहिष्कार गर्ने कठोर निर्णय गरेको छ ।
‘खुल्लामा दिसा गरी अरुलाई विरामी पार्ने काम सामाजिक व्यवहार हुँदै होइन’ जानकी आधारभूत विद्यालय पाठामारीका शिक्षक मोहनलाल गणेश भन्नुहुन्छ ‘खुल्ला ठाउँमा दिसा गर्ने काम सामाजिक अपराध भएकोले विकास निर्माणका लागि गठन हुने उपभोक्ता समितिहरुमा समेत राख्नु हुँदैन ।’
खुल्ला दिसा गर्ने कार्य बन्द गराउन सबैभन्दा ठूलो भूमिका चर्पी हुने छिमेकीहरुको रहने भनाइ छ देवी आधारभूत विद्यालय पाठामारीका शिक्षक रजगुण राजवंशीको ‘खुल्ला स्थानमा दिसा गर्दा सबैभन्दा बढी प्रभावित हुने छिमेकीहरु नै हुन्छन्’ उहाँ भन्नुहुन्छ ‘त्यसैले चर्पी नहुने आफ्ना छिमेकीहरुलाई चर्पी बनाउनका लागि छिमेकीहरुले नै दवाव दिएमा मात्र सरसफाइको सामाजिक मान्यता स्थापित हुन्छ ।’
गएको शुक्रबार सम्पन्ने शिवसताक्षी नगरपालिकाको नगरकार्यपालिका बैठकले समेत खुल्ला र असुरक्षित शौचालयमा दिसा गर्नेलाई फोहरमैला व्यवस्थापन ऐन अनुसार नगद जरिवाना गर्ने निर्णय गरेको छ ।
नगरपालिका स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिका सदस्य समेत रहेका विराट सामुदायिक अध्ययन केन्द्रका एरिया संयोजक किशोर बूढाथोकीका अनुसार शुरुमा माइकिङ गरेर सबैलाई एक हप्ताको समय दिएर सचेत गराइने छ, त्यसपछि पनि चर्पी नबनाउनेलाई जरिवाना गरिनेछ ।
घरमा चर्पी नहुनेलाई कुनै पनि सम्मान नगर्ने निर्णय समेत पाठामारीमा गरिएको छ । ‘चर्पी नहुने मानिस सम्मानित मानिस हुनै सक्तैनँ, त्यसैले सम्मान र कुनै पनि पद दिनु हुँदैन खुल्लामा दिसा गर्ने व्यक्तिलाई’ शिक्षक रजगुण राजवंशीले भन्नुभयो ।
पत्राचार, घरदैलो, सम्झाइ बुझाइ गर्दा समेत अटेर गरी खुल्ला ठाउँमा दिसा गर्ने व्यक्तिको तस्वीर खिचेर सार्वजनिक स्थानमा टाँस गरिदिने शिवसताक्षी नगरपालिकाका प्रमुख चन्द्रकुमार शेर्माले बताउनुभयो । ‘दशौं पटक सम्झाउँदा समेत अटेर गर्नेलाई सार्वजनिक रुपमा बेइज्जत नगरी वानी व्यवहारमा सुधार ल्याउन नसकिने भयो’ नगर प्रमुख शेर्माले भन्नुभयो ।


769 पटक हेरिएको 

