अम्बिका भण्डारी, मेचीनगर, झापा
कार्यस्थलमा चर्पी नहुँदा खुला दिसा पिसाब र फोहोरका कारण टोक्ला चिया बगानका मजदुर धमाधम बिरामी पर्न थालेका छन् । ‘दिसापिसाब गर्ने र काम गर्ने ठाउँ एउटै हो’, मजदुरहरुका नाइके दाहाल भन्नुहुन्छ ‘उनीहरुका खुट्टामा आएका घाऊ खटिरा देख्दा दया लाग्दो अवस्था छ, फोहरले गर्दा वर्षा याममा त हात खुट्टा नै पाक्छन् ।’
बगान मजदूरको नियमित स्वास्थ्य जाँच गरिरहेका पूर्व जनस्वास्थ्य निरीक्षक हेमन्तराज दवाडी दिसाबाट उत्पन्न हुने जीवाणु धेरै खालका र मानव स्वास्थ्यका लागि घातक हुने बताउनुहुन्छ ।
उहाँले बगान मजदूरका छोराछोरीमा कुपोषण र झाडा पखालाको समस्या बढी भएको बताउनुभयो । बगानभित्र काम गर्ने मजदूरमा छालाको रोग बढी देखिएको र फोहोरमैलाकै कारण विरामी बढेको उहाँले बताउनुभयो । स्वास्थ्यकर्मी दवाडी भन्नुहुन्छ ‘मजदूर बस्ने स्थानमा चर्पी बनाउन सके त्यो समस्या समाधान हुन्छ ।’
चर्पी आफै बनाऊ : बगान व्यवस्थापन
टोकला बगानका मेनेजर राजु सिन्हाले मजदुरहरुको बस्ने ठाउँको मात्र व्यवस्था व्यवस्थापन पक्षले गर्दै आएको स्वीकार गर्दै बस्न जग्गा उपलब्ध गराको र चर्पी बनाउने जिम्मेवारी मजदुरहरुकै भएको बताउनुभयो ।
‘हामीले बस्ने जग्गा उपलब्ध गराइदिएका छौं, चर्पी उनीहरु आफैंले बनाउनुपर्छ’ उहाँले भन्नुभयो ।
उहाँले बगानमा दिउँसो काम गर्ने मजदूरका लागि सार्वजनिक शौचालय बनाउन सम्भव नहुने जिकीर गर्नुभयो । ‘हामीले पहिला भारतको डुबर्सस्थित बगानमा काम गर्ने मजदूरका लागि केही शौचालय बनाइदिएका थियौं, तर सुरक्षा नै भएन ।’ उहाँले भन्नुभयो ।
त्रिवेणी ग्रुपको बगानमा शौचालय बनाउने योजना नै नभएको र अरु कुनै निकायले मजदूरका लागि शौचालय बनाइदिने भए वाधा नगरिने बताउनुभयो ।
चर्पी बनाउन आफ्नो आर्थिक सामथ्र्य नभएको मजदुरहरु बताउँछन् ।
बगान व्यवस्थापनलाई अनुरोध गर्छौं : नगरपालिका
मेचीनगर नगरपालिकाकी उपमेयर मिना उप्रेतीले मेचीनगर क्षेत्रमा रहेका बगान व्यवस्थापनसँग शौचालय निर्माणका लागि अनुरोध गरिने योजना रहेको बताउनुभयो ।
पहिले अनुरोध गर्ने र बगान व्यवस्थापन पक्षले अटेर गरेमा नगरपालिकाकै तर्फबाट भए पनि सार्वजनिक शौचालय निर्माण गरिदिने योजनामा रहेको उहाँले बताउनुभयो ।
मेचीनगर नगरपालिका नगरलाई ‘खुल्ला दिसामुक्त क्षेत्र’ घोषणा गर्ने अन्तिम तयारीमा जुटिरहेकाले सबै पक्षलाई शौचालय बनाउन आग्रह गरिने उपप्रमुख उप्रेतीले बताउनुभयो ।
दुहागढी र धाइजन घोषणा भइसकेको र चाँडै मेचीनगर–९ पनि घोषणाको तयारीमा रहेको जानकारी दिँदै उहाँले भन्नुभयो ‘हामी नगरका सबै क्षेत्र खुल्ला दिसामुक्त घोषणाको अन्तिम तयारीमा छौं ।’


774 पटक हेरिएको 

