‘खोले’ शौचालय फेरि पुरानै अवस्थामा फर्किदै

कालिकोट : खुला दिसामुक्त जिल्ला घोषणा गर्ने बेला बनाएका चर्पी भत्किन थालेपछि कालिकोटमा ‘खोले’ चर्पी फेरि पुरानै अवस्थामा फर्किन थालेका छन् । चर्पी भत्किएर प्रयोग गर्न लायकको नभएपछि पहिले जस्तै खोलाखोल्सीमा गएर दिसापिसाब गर्ने प्रवृत्ति फेरि देखिन थालेको हो ।

चर्पीमा पानी चाहिने र पानी नहाल्दा गन्हाउने भएपछि खोला खोल्सामा धाउन थालेका पलाँता गाउँपालिका वडा नं ९ का वडा अध्यक्ष टक्कबहादुर बमले बताउनुभयो । बमका अनुसार वडा नं. ९ का ४० भन्दा बढी घरका चर्पी भत्किएपछि चर्पी विहनी भएका छन् ।

कालिकोटमा २०६५ साल देखि सुरु भएको सरसफाइ अभियान जिल्लाभर फैलिएपछि सबैले चर्पी बनाएर दिसा लुकाउन थालेका थिए । ‘सरसफाइ अभियानले जसरी हुन्छ दिसा लुकाउ भनेर मात्र सन्देश दियो । दिसा लुकाउँदाका घाटा र फाइदाका विषयमा समुदायका मानिसलाई जानकारी गराएन । त्यसैले अहिले फेरि खोले चर्पी पुरानै अवस्थामा फर्किन थालेका छन्’ पत्रकार तुलाराम पाण्डेले भन्नुभयो ।

सन् २००६ सम्म २ दशमलव ०९ प्रतिशत अर्थात ७ सय ६२ घरमा मात्र चर्पी भएको कालीकोटमा सन् २०१३ को मे सम्ममा कालिकोटका २३ हजार घरमा चर्पी बनेपछि कालिकोटलाई खुलादिसामुक्त जिल्ला घोषणा गरिएको थियोे ।

गाउँ गाउँमा फेरि खुला दिसा देखिन थालेपछि पलाँता गाउँपालिकामा दिगो खानेपानी सरसफाइ तथा स्वच्छता कार्यक्रम संचालन गरिएको पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बमले बताउनुभयो । कालिकोटलाइ २०७० जेठ २६ गते मध्यपश्चिम अञ्चल विकास क्षेत्रको दोश्रो तथा नेपालको आठौं खुल्ला दिसामुक्त जिल्ला घोषणा गरिएको थियो ।

पलाँता गाउँपालिका र पचाल झरना गाउँपालिकालाई खानेपानीको अभाव तथा खडेरी क्षेत्रका रुपमा चिनिन्छ । गाउँपालिकामा साविकका धौलागोह, खिन, थिर्पु, नानिकोट, राम्नाकोट गाविस र बदालकोट गाविसको केही भूभाग पर्दछ । यी ठाउँका बासिन्दाले चर्पी सफा गर्ने तर परैको कुरा, खानेपानी सम्म पाउन कठिन छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार