मनाङ : मनाङको उच्च हिमाली भेगमा खानेपानीको मुहान जमेर बरफ बनेपछि धारामा पानी आउनै छाडेको छ । अत्यधिक चिसो बढेपछि पानी वग्ने खोला पनि जमेको मनाङको लेदरका फुर्वु डोल्पो घलेले बताउनुभयो ।
‘खहरे खोला र छहराहरु पूरै जमेका छन्, खानेपानीको मुहान सानो पानीको मूल भएकाले जमेर बग्नै छाडेको छ’ घलेले भन्नुभयो ‘धारोमा पानी आउनै छाडेपछि बरफ पगालेर काम चलाउन थालेका छौं ।’

कतै कतै मुहानमा पानी नजमेपनि पाइपमा पानी जमेपछि धारामा पानी आउनै छाडेका छन् । पश्चिमी वायुको प्रभाव वढ्दै जाँदा पानी हिउँ नपरेपनि हिमाली भेगमा अत्यधिक चिसो वढेको छ ।
‘हामी त चिसोले मर्न लागिसक्यौं, घरमा थापेर राखेको पानी पनि जम्न थालेका छन्, बरफलाई पगालेर खानेपानीको समस्या टार्दै छौं’ मनाङको हुम्डेकी डोका लामाले भन्नुभयो ।
मनाङको थोराङफेदी लगायतका ठाउँमा माइनस १६ डिग्री सम्म तापक्रम झरेको छ ।


1046 पटक हेरिएको 

