काठमाडौ : देशका १७८ वटा स्थानीय तहमा खानेपानी, सरसफाइ तथा स्वच्छता (वास) युनिट स्थापना भएका छन् । ७५३ वटा स्थानीय तह मध्ये १७८ वटा पालिकामा वास युनिट स्थापना भएको खानेपानी तथा ढल व्यवस्थापन विभागले जनाएको छ ।
कतिपय पालिकाले वास शाखा नै भनेर स्थापना गरेका छन् । ती पालिकाले वातावरण तथा फोहोरमैला व्यवस्थापनको काम समेत वास शाखा मार्फत नै गर्दै आएका छन् । वास युनिट रहेका पालिकाले भने खानेपानी तथा सरसफाइ योजनाहरुको तर्जुमा र कार्यान्वयन गर्दै आएका छन् ।
खानेपानी र सरसफाइको क्षेत्रमा कार्यरत विभिन्न संघसंस्थाले स्थानीय तहमा वास युनिट स्थापना गर्न विगत लामो समयदेखि पहल गर्दै आएका छन् । वास युनिट स्थापना भएका पालिकाले खानेपानी र सरसफाइ क्षेत्रमा राम्रो योगदान पुर्याउँदै आएका छन्।