राउटे समुदायको स्वच्छता बानी व्यवहार परिवर्तन हुँदै

  भक्तबहादुर शाही  231 पटक हेरिएको


सुर्खेत : दक्षिण एसियाको एक मात्र फिरन्ते समुदाय हो, राउटे । यो समुदायको स्थायी बसोबास गर्ने कुनै स्थान छैन । बास स्थानन्तरण गरिरहने यो समुदायमा गोप्यता भन्ने हुँदैन । धन सम्पत्ति कमाउने लोभ छैन । जातिय विभेद, वर्ग विभाजन पनि छैन यो समुदायमा । यही विशिष्ट संस्कार नै राउटेको पहिचान हो ।

राउटेमा कल्याल रास्कोटी, सोमबंशी गरि तीन जाति छन् । रास्कोटी, कल्याल, सोमवंशी बीच विहेवारी हुने गर्दछ । यो समुदाय गैरराउटेसँग विहेवारी गर्दैनन् । यो जाति आफ्नो परम्पराको निरन्तरता चाहन्छ ।

तर पछिल्लो समयमा परम्पराको निरन्तरता कायम हुँदैन कि भन्ने चिन्ता पनि उत्तिकै बढेको देखिन्छ । राउटे समाजमा आएको खुकुलोपन र गैरराउटेसँग छिट्टै घुलमिल हुने, मदिरा पिउने बानीले आफ्नो परम्परा जोगिदैन कि भन्ने चिन्ता लाग्ने गरेको मुखिया वीरबहादुर शाहीले बताउनुभयो । ‘हाम्रो बगालमा पहिला गाउँका मान्छे कोही आउँदैनथे, काठका कोशी, मधुश, आरी, झुमा अन्नसँग साट्न गाउँ जान्थ्यौँ, अन्न ल्याएर बेलुका घर फर्किन्थ्यौं, आजभोलि बस्तीमा सजिलैसँग गाउँका मान्छे आवतजावत गर्ने, राउटे पनि मदिरा पिउन थालेपछि खुकुलो हँुदै गएकोले परम्परा रहँदैन भन्ने चिन्ता लागेको छ,’ उहाँले भन्नुभयो ।

अहिले त छाप्रो लिपपोत गर्ने, भाँडाकुँडा सफा गर्ने, नङ काटने समेत गर्छन’ स्वास्थ्यकर्मी अनुजा पन्त भन्नुहुन्छ ‘हिजोआज हात धोएर मात्र खाना खान्छन्।’

राउटेमा खुकुलोपना आउनु रहर नभएर बाध्यता बनेको स्थानीय बासी बताउँछन् । पहिला जताततै राष्ट्रिय वन हुन्थ्यो । निस्फिक्री राउटेले कु–काठ काट्न पाउथे । राष्ट्रिय वन समुदायमा हस्तान्तरण भएपछि समुदायले जथाभावी कुकाठ काट्न दिएनन । जीविकोपार्जनको लागि एकपछि अर्को समुदायसँगै बस्दै गए । समाजमा घुलमिल हँुदै गएपछि राउटेमा खुकुलो पन आयो । रहर नभएर आवश्यकताको पहिचानसँगै राउटे बदलिएको आठबीस नगरपालिकाका खगेन्द्रबहादुर शाहीले बताउनुभयो ।

‘एक दशक अघि राउटे गैरराउटेसँग घुलमिल हुँदैन थिए, काठका भाडाकुडा विक्री गर्न बाहेक अन्य कुरामा राउटे गैरराउटेसँग भेटघाट हुँदैनथ्यो, कसैले कुकाठ काट्न नदिए मुखिया नै अगाडी सर्थे, अब त्यो छैन’ उहाँले भन्नुभयो।

नेपाल सरकारले दिने गरेको लोपोन्मुख भत्ता, सरकारी एवं गैरसरकारी संस्थाको सहयोगको नाममा बस्तीमा गैरराउटेको आवतजावत घुलमिल हुँदा राउटेको संस्कार बदलियो ।

दोस्रो जनआन्दोलन २०६२/०६३ पछि नै गैरराउटेलाई बस्तीमा जान बन्देज लगाउने कुरा खुकुलो हुँदै गएको उहाँको भनाई छ ।

संघीयतासँगै यो समुदायका दिनचर्या बदलिएका छन् । पहिले जसरी राउटे भाँडाकुडा बनाउँदैनन् । एकातिर काठको अभाव, अर्कोतिर बिक्री नहुने हुँदा र बजारको प्रतिस्पर्धा राउटेका भाँडाकुडाले स्थान लिन नसक्दा उनको दिनचर्या बदलिएको हो । सरकारी भत्ता र गैरसरकारी संस्थाको सहयोगले नै राउटेको आनीवानीमा परिवर्तन ल्याईदियो ।

बालबालिकाको शिक्षा मोह

स्थायी बसोबास, लेखपढ, खेतीपाती यो समुदायका महाशत्रु हुन् । पछिल्लो समय भने राउटे समुदायका बालबालिका महाशत्रु ठानिएको लेखपढ तिर ध्यान जान थालेको छ । बुढापाका आमा बाबु नदेख्ने गरी बस्ती टाढा गएर लुकीछिपी पढन थालेको एईआईएन लक्जेम्वर्गको आर्थिक सहयोगमा सामाविक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखद्धारा सञ्चालित राउटे परियोजनाका कर्मचारी लालबहादुर खत्रीले जानकारी दिनुभयो ।

राउटे समुदायका बुढापाका त पढ्न मान्दैनन् । तर बालबालिकामा शिक्षा मोह जागेको छ । पढन रहर लागेर उनीहरु आमा बाबुबाट लुकीछिपी पढछन् । केही बालबालिका आफ्नो नाम समेत लेख्ने चिन्ने भईसकेका छन् । राउटे बस्तीमा आउने विदेशी पर्यटकसँग कुरा गर्न सजिलो होस भन्नका लागि आफुहरु पढ्न थालेको राउटे बालबालिका बताउँछन् ।

भन्छन, ‘तपाईहरुसँग हामी कुरा गर्न सक्छ, तपाईले लेखेर ल्याएको पढन सक्दैन, कुईरेको भाषा पनि बुझिदैन, विदेशीको भाषा बुझ्ने तपाईहरुले लेखेर ल्याएको कुरा पढ्न जान्यौं भन्या सजिलो होला भनेर पढन थालेका हौ, पढेर जागिरे खाने रहर छैन, जागिर खाने त ‘तपाईले हो हामीले होइन ?

पढाईसँगै परियोजनाले राउटे बस्तीमा स्वास्थ्य उपचार, सरसफाइका गतिविधि सञ्चालन गरिरहेको सोसेक नेपालका संस्थापक अध्यक्ष हिरासिंह थापाले बताउनुभयो । राउटे परियोजनाले घुम्ती शिक्षा र घुम्ती स्वास्थ्य सञ्चालन गरेको छ । जहाँ राउटे जान्छन् । त्यही शिक्षक र स्वास्थ्यकर्मी जाने गरेको उहाँको भनाई छ । परियोजना सञ्चालनपछि यो समुदायका मानिसले सरसफाइ गर्ने, कपडा धुने, नुहाउने गरेका छन् । सधैजसो जहाँ त्यही फोहोर हुने बस्ती सफा सुग्घर देखिएका छन् । बर्षको एकदिन मात्र नुहाउने यो समुदाय आजभोलि दिनहुँ जसो नुहाउने गर्छन । जहाँ बस्यो त्यही छाप्रो सँगै फोहोर हाल्ने खाल्डो समेत बनाउने गरेका छन् ।

‘पहिलो जस्तो बस्ती छिर्दा नाक छोप्नुपर्ने अवस्था छैन्,’ स्वास्थ्कर्मी बिनोद विसीले भन्नुभयो । जंगली जडीबुटीको विश्वास गर्दै आएका यो समुदायका नागरिक आजभोलि हातखुट्टा चोटपटक लाग्ने वित्तिकै औषधी चाहियो भनेर उपचार गर्ने गरेको उहाँले बताउनुभयो।

राउटे महिलाका लागि महिला स्वास्थ्यकर्मी परिचालन गरिएको छ। ‘दिनहुँ जसो राउटेसँग सरसरफाइ, पोषणको बारमो छलफल गछौं, पहिला पहिला मान्दैन थिए । आजभोलि मान्छन, मैले देखेको जस्तो अवस्थामा उनीहरु छैनन्। अहिले त छाप्रो लिपपोत गर्ने, भाँडाकुँडा सफा गर्ने, नङ काटने समेत गर्छन, सफा चिटिक्क छन’ स्वास्थ्यकर्मी अनुजा पन्त भन्नुहुन्छ ‘हिजोआज हात धोएर मात्र खाना खान्छन्।’

यो समुदायका महिला भने सुरक्षित सुत्केरीका लागि स्वास्थ्य संस्था जाँदैनन् । छाप्रोभित्र बच्चा जन्माउँछन् । १३५ जनसंख्या रहेको राउटे आजभोलि बीरेन्द्रनगर नगरपालिका २ जंगलमा बसोबास गर्दै आईरहेका छन् ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार