काठमाडौ : नगरव्यापी समावेशी सरसफाइ शहरी सरसफाइ चुनौतीहरूको समाधानमा एक रूपान्तरणकारी परिवर्तन हो, जसले परम्परागत पूर्वाधार–केन्द्रित समाधानहरूलाई पार गर्दै समग्र समावेशी र दिगो दृष्टिकोणलाई अंगाल्दछ। नगरव्यापी समावेशी सरसफाइको लक्ष्य भनेको सबैका लागि सुरक्षित समावेशी सरसफाइमा समान पहुँच प्रदान गर्नु हो, जसले दिगो विकास लक्ष्य ६.२ सँग सम्बन्ध राख्दछ, जसको उद्देश्य पर्याप्त र समतामूलक सरसफाइ र स्वच्छतामा विश्वव्यापी पहुँच सुनिश्चित गर्नु हो ।
नगरव्यापी समावेशी सरसफाइका सिद्धान्त र फाइदाहरूको बढ्दो अनुसरण भएतापनि, यसको कार्यान्वयनमा महत्वपूर्ण चुनौतीहरू देखिन्छ, विशेष गरी तीव्र गतिमा शहरीकरण भइरहेको शहरका नागरिकहरुको आवश्यकताहरूलाई पूरा गर्ने कार्य चुनौतीपूर्ण देखिन्छ । एक मुख्य अवरोध भनेकोे तालिम प्राप्त र विविध विषयमा दक्ष जनशक्तिको अभाव हो ।
नगरव्यापी समावेशी सरसफाइलाई सफलतापूर्वक विस्तार गर्नका लागि विभिन्न क्षेत्रका विशेषज्ञहरुलाई समावेश गर्ने बहुविषयक दृष्टिकोणको आवश्यकता पर्दछ । पहिले नै नगरव्यापी समावेशी सरसफाइ कार्यान्वयन गरेका देशहरूको सिकाइले यो नविनतम अवधारणाका पहलहरूलाई अघि बढाउन आवश्यक मानव संसाधन क्षमता निर्माण गर्न महत्वपूर्ण भूमिका खेलेको छ ।
यस्ता अनुभवहरूले व्यवहारिक बुझाइ र उत्कृष्ट अभ्यासहरू प्रदान गर्दछ जसले अन्य देशहरूलाई जनशक्तिको अभाव र कार्यान्वयन चुनौतीहरूको सामना गर्न मार्गदर्शन प्रदान गर्न सक्छ ।
नेपालमा नगरव्यापी समावेशी सरसफाइलाई सुदृढ गर्न क्षमता वृद्धिका पहलहरु
दक्ष जनशक्तिको आवश्यकतालाई सम्बोधन गर्नका लागि नगरव्यापी समावेशी सरसफाइमा विज्ञता प्राप्त गरेको हैदराबाद स्थित एडमिनिस्ट्रेटिव स्टाफ कलेज अफ इण्डियाले पहल गर्यो । एडमिनिस्ट्रेटिव स्टाफ कलेज अफ इण्डियाले अनलाइन प्रशिक्षण कार्यक्रमहरू संचालन गरेर क्षमता वृद्धिका कार्यक्रम सुरु गर्यो ।
यी कार्यक्रमहरूले ज्ञान अभिवृद्घिमा पुलको कार्य गर्दै ६० नेपाली सरसफाइ पेशाकर्मीलाई सफलतापूर्वक प्रशिक्षित गर्न निर्णायक भुमिका खेल्यो । यस्ता प्रशिक्षणका पहलहरुले नेपालमा नगरव्यापी समावेशी सरसफाइको बुझाइलाई गहिरो बनाउने मात्र नभई नयाँ विशेषज्ञहरूमा आवश्यक सीप र ज्ञानको विकास गर्दै व्यवहारिक कार्यान्वयनको बाटो पनि खुलाएको छ ।
युएन–ह्याबिट्याटका नेसनल प्रोफेस्नल अफिसर सुधा श्रेष्ठले क्षमता अभिवृद्धिका पहलहरूको महत्वमा जोड दिँदै भन्नुभयो, “ती तालिममा सरकारको तर्फबाट खानेपानी मन्त्रालय तथा विकास साझेदारहरुको तर्फबाट सहभागी हुनु भएको छ । तालिम प्राप्त गरिसक्नु भएका उहाँँहरुले संयुक्त रुपमा योगदान गर्ने हो भने नेपाल नगरव्यापी समावेशी सरसफाइको प्रोफेश्नल हब बनिसकेको छ ।” उहाँको भनाइले नेपालमा नगरव्यापी समावेशी सरसफाइलाई अगाडि बढाउनका लागि प्रशिक्षित सरसफाइ पेशाकर्मीहरूको एक सुदृढ सञ्जाल निर्माण गर्ने सम्भावनालाई उजागर गर्दछ, जसले देशव्यापी दिगो र समावेशी सरसफाइ समाधानहरू सुनिश्चित गर्न सहकार्य गर्न सक्छ ।
खानेपानी तथा ढल व्यवस्थापन विभागकी ई. सञ्जु लामिछानेले एडमिनिस्ट्रेटिव स्टाफ कलेज अफ इण्डियाले संचालन गरेको तालिममा सहभागी भएका अनुभवबारे विचार व्यक्त गर्दै भन्नुभयो, भर्चुअल माध्यमबाट लिईएको उक्त तालिम धेरै महत्वपूर्ण थियो, मैले सिविसको अवधारणा पनि सोही तालिममा सिकेको हुँ, झनै राष्ट्रिय खानेपानी तथा सरसफाइ तालिम केन्द्रमा भएको तालिमबाट थप स्पष्ट हुने मौका मिल्यो ।’
तालिम कार्यक्रमहरू मार्फत नगरव्यापी समावेशी सरसफाइलाई विस्तार गर्न पहल लिदैं एन्फो
वातावरण तथा जनस्वास्थ्य संस्था (एन्फो) ले नेपालमा नगरव्यापी समावेशी सरसफाइ प्रवर्धनका लागि परियोजना कार्यान्वयन गरिरहेको छ । यस परियोजनाको एक भागको रूपमा, एन्फोले क्षमता अभिवृद्धि विषयगत समूहको नेतृत्व गरिरहेको छ, जस अन्तर्गत देशव्यापी रूपमा नगरव्यापी समावेशी सरसफाइका सिद्धान्त र अभ्यासलाई प्रवर्धन गर्न आवश्यक ज्ञान र सीपहरू सुदृढ बनाउन योगदान पुर्याइरहेको छ ।
यस परियोजना मार्फत एन्फोले सरसफाइसँग सम्बन्धित विभिन्न सरोकारवालाहरूका लागि विशेष रूपमा अनुकूलन गरिएका तालिम प्याकेजहरू विकास गर्दै तालिम संचालन गरिरहेको छ । यी तालिमहरूमा नगरव्यापी समावेशी सरसफाइ – प्रशिक्षकहरुका लागि प्रशिक्षण, नगरव्यापी समावेशी सरसफाइ अवधारणाको परिचय, सेप्टिक ट्यांकी निर्माणका लागि तालिम, पेशागत स्वास्थ्य र सुरक्षा, र अन्य विषयहरू समावेश छन् ।
यीमध्ये, नगरव्यापी समावेशी सरसफाइ – प्रशिक्षकहरुका लागि प्रशिक्षण एउटा विस्तृत र संरचित तालिम प्याकेज हो, जसको उद्देश्य ठूलो मात्रामा नगरव्यापी समावेशी सरसफाइको ज्ञान र सीपलाई फैलाउन सक्षम दक्ष जनस्रोत उत्पादन गर्नु हो । यो तालिमले नगरव्यापी समावेशी सरसफाइका विभिन्न पक्षहरू समेट्दै सहभागीहरूलाई समावेशी सरसफाइ रणनीतिहरूमा वकालतकर्ता, प्रशिक्षक, र कार्यान्वयनकर्ता बन्न सक्षम बनाउँछ ।
राष्ट्रिय खानेपानी तथा सरसफाइ तालिम केन्द्रको सहकार्यमा एन्फोले नगरव्यापी समावेशी सरसफाइ – प्रशिक्षकहरुका लागि प्रशिक्षणको पहिलो तालिम संचालन गरेर २१ जना सरसफाइ पेशाकर्मीरुलाई नेपालमा नगरव्यापी समावेशी सरसफाइका वकालतकर्ता र विशेषज्ञहरूको सुदृढ सञ्जाल विकासतर्फ महत्वपूर्ण कदम चालेको छ । तालिम प्राप्त गरेका यी पेशाकर्मीहरू अब नगरव्यापी समावेशी सरसफाइ अवधारणालाई थप प्रसार गर्न सक्षम छन्, जसले देशभर नगरव्यापी समावेशी सरसफाइ समाधानहरूको दिगो विस्तार र कार्यान्वयनमा योगदान पुर्याउन सक्नेछन् ।
ई. सञ्जु लामिछाने, जसले नगरव्यापी समावेशी सरसफाइ – प्रशिक्षकहरुका लागि प्रशिक्षण तालिममा सहभागी हुनु भएको थियो। उहाँले चार वटा भन्दा बढी समूहलाई नगरव्यापी समावेशी सरसफाइ सम्बन्धी तालिम दिई सक्नु भएको छ । उहाँको तालिममा स्थानीय सरकार र प्रदेश सरकारका प्रतिनिधी र खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका सदस्यहरुले सहभागिता जनाउने गरेका छन् ।
विभागकै अर्का इन्जिनियर निकिता राईले पनि नगरव्यापी समावेशी सरसफाइ सम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिममा भाग लिए पछि विभिन्न समूहलाई तालिम दिई सक्नु भएको छ । उहाँले मन्त्रालय तथा विभागमा भर्ना भएका नयाँ इन्जिनियरहरुलाई नगरव्यापी समावेशी सरसफाइ अवधारणाबारे तालिम दिएको बताउनुभयो ।
यी दुई उदाहरणले नगरव्यापी समावेशी सरसफाइको अवधारणालाई एउटै प्रशिक्षकको प्रयासबाट धेरै व्यक्तिहरूसम्म कसरी पुर्याउन सकिन्छ भन्ने कुरा देखाउँछन् । एक जना प्रशिक्षकले ४ वटा समूहलाई मात्र तालिम दिँदा पनि कम्तीमा सय जनामा यो अवधारणा पुर्याउन सकिने खानेपानी विभागका सिडिई सञ्जु लामिछाने बताउनुहुन्छ ।
सैद्धान्तिक र व्यावहारिक ज्ञानको संयोजन
नगरव्यापी समावेशी सरसफाइ एक व्यापक दृष्टिकोण हो जसका लागि प्रभावकारी कार्यान्वयनको लागि सैद्धान्तिक तथा व्यवहारिक अनुभव दुवै आवश्यक पर्दछ । यस आवश्यकतालाई सम्बोधन गर्न एन्फोले यसको नगरव्यापी समावेशी सरसफाइ प्रशिक्षण कार्यक्रमहरूमा स्थलगत भ्रमणहरू समावेश गर्दछ, जसले सहभागीहरूलाई वास्तविक संसारमा भएका कार्यान्वयनहरूको अवलोकन गर्न र जोडिन अवसर प्रदान गर्दछ । यी भ्रमणहरूले सरसफाइ प्रणालीहरूको डिजाइन र सञ्चालनमा वास्तविक बुझाइ प्रदान गर्दै समुदायको संलग्नताको भूमिका उजागर गर्दछ र चुनौतीहरूको समाधान प्रस्तुत गर्दछ ।
खानेपानी विभागका इन्जिनियर निकिता राई भनुहुन्छ ‘तालिमलाई प्रभावकारी बनाउन फिल्ड भिजिटले धेरै सघाउ पुगेको छ, उहाँहरुले प्रभावकारी तालिम सामग्रीको निर्माण र फिल्डमा अवलोकनका लागि पनि लैजाने गर्नुभएको छ जसले गर्दा हामी जस्ता तालिमका सहभागीले राम्रो सँग बुझ्न पाएका छौं ।’
तालिम कक्षमा देश भित्र र देश बाहिरका केसहरु, सफलताका कथाहरु सुनाउने र देखाउने हुँदा तालिमको वातावरण एकदम रोचक भएको खानेपानी विभागकी सिडिई लामिछानेले बताउनुभयो । ‘नेपाल बाहिरका बिषयवस्तुहरु माथि छलफल गर्ने, त्यसलाई चिरफार गर्ने र हाम्रो परिवेशमा कसरी लागु गर्न सकिन्छ भनेर छलफल गर्दा नयाँ आईडिया समेत निस्किने रहेछ’ उहाँले भन्नुभयो ।
आश कुमार खाइटु, कार्यक्रम प्रबन्धक एन्फोले व्यवहारिक अनुभवको महत्वलाई जोड्दै भन्नुभयो, “कक्षाको छलफललाई परियोजना स्थलसम्म ल्याउने कामले सहभागीहरूलाई विषयवस्तुको गहिरो र समग्र बुझाइ विकास गर्न मद्दत गर्दछ । यसैले, स्थलगत भ्रमणहरूलाई अधिकांश प्रशिक्षण कार्यक्रमहरूको प्रमुख अंश बनाईएको छ । वहाँले थप्नुभयो, “सैद्धान्तिक कुरा व्यवहारमा हेर्दा सहभागीहरूको सिकाइमा आत्मविश्वास वृद्धि हुन्छ, र फिल्डमा कार्यरत कर्मचारीहरूसँगको संलग्नताले वास्तविक संसारको जानकारी प्रदान गरेर उनीहरूको बुझाइलाई थप गहिरो बनाउँदछ” ।
यी संयुक्त प्रतिक्रियाहरुले सैद्धान्तिक बुझाइलाई व्यावहारिक अनुभवसँग मिलाएर एक मजबुत सिकाइ अनुभव सिर्जना गर्दछ र सहभागीहरूलाई नगरव्यापी समावेशी सरसफाइ सिद्धान्तलाई प्रभावकारी रूपमा कार्यान्वयनको सुनिश्चित गर्दछ ।
पेशागत सुरक्षा र दक्षता वृद्धि
नगरव्यापी समावेशी सरसफाइ प्रशिक्षकको लागि प्रशिक्षण तालिम मात्र नभइ एन्फोद्वारा विकसित र संचालन गरिएका अन्य तालिम प्याकेजहरूको प्रभाव पनि उत्तिकै महत्त्वपूर्ण रहेको छ ।
एन्फोले आयोजना गरेको सेप्टिक ट्याङ्की निर्माण सम्बन्धी तालिममा भाग लिए पछि पोखरा महानगरपालिका २२ का लील बहादुर गुरुङले यस अघि बनाएको सेप्टिक ट्याङ्कीहरु होल्डिङ ट्याङक मात्र रहेछ भन्ने थाहा पाएको प्रतिक्रिया दिनुभयो ।
गुरुङ पोखरामा घर निर्माणको काम गर्नुहुन्छ । आफूले पोखरामा धेरै घरहरुसँगै सेप्टिक ट्याङ्क पनि निर्माण गरेको र ती कुनै पनि मापदण्ड अनुरुपको नरहेको बल्ल ज्ञात भएको बताउनुभयो । लीलबहादुर भन्नुहुन्छ ‘हामीले त सेप्टिक ट्याङ्कको भित्तामा मात्र ढलान गरेका हुन्छौं, भुँईमा ढलान गर्दा चाँडै भरिन्छ भनेर फेदमा ढलान नगरी छोड्छौं, घरमूलीले पनि फेदमा ढलान गर्नु हुँदैन भन्नुहुन्छ तर त्यो सही काम होइन रहेछ ।’ सेप्टिक ट्याङ्की निर्माण सम्बन्धी तालिम लिए पछि छर्लङ्ग भएको र आउँदा दिनमा मापदण्ड अनुसारकै सेप्टिक ट्याङ्की बनाउने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।
सेप्टिक ट्याङ्क निर्माण गर्दा डकर्मी वा घरमूलीको सानो असावधानीले भविश्यमा ठूलो खतरा निम्त्याउन सक्छ । सेप्टिक ट्याङ्कको फेदमा ढलान नगर्दा दिसाको रस चुहिएर खानेपानीको स्रोतमा मिसिन पुग्ने र उक्त पानीको सेवनबाट जनस्वास्थ्य र वातावरणमा नकारात्मक असर पर्ने विज्ञहरु बताउँछन् । त्यसैले सुरक्षित सरसफाइको लागि उचित मापदण्डको सेप्टिक ट्याङ्क प्रारम्भिक आवश्यकताहरुमा पर्दछ ।
सेप्टिक ट्याङ्क बनाउने डकर्मीलाई मात्र होइन, सेप्टिक ट्याङ्की खाली गरी त्यसमा रहेको दिसाजन्य लेदो व्यवस्थापन गर्ने सरसफाइकर्मीका लागि पनि तालिम दिईएको थियो । सरसफाइकर्मीको पेशागत स्वास्थ्य र सुरक्षा सम्बन्धी तालिम पनि उस्तै प्रभावकारी बनेको तालिमका सहभागीहरु बताउँछन् ।
फोहोरमैलासँग सम्बन्धित काम गर्दा व्यक्तिगत सुरक्षा उपकरण लगाएर मात्र काम गर्नुपर्ने बिषय तालिमकै दौरानमा थाहा पाएको लुभु स्थित दिसाजन्य लेदो प्रशोधन केन्द्रका हेरचाहकर्ता सूर्य प्रसाद घिमिरेले बताउनुभयो ।
‘फोहोरमैला व्यबस्थापन भित्र पनि दिसाजन्य लेदो व्यवस्थापनको काम धेरै जोखिमपूर्ण हुने भएकाले विभिन्न सुरक्षा उपकरणहरु जस्तै मास्क, पञ्जा, हेलमेट, गम्बुट लगायत व्यक्तिगत सुरक्षा सामग्रीहरु लगाउनै पर्ने रहेछ’ उहाँले भन्नुभयो । तालिममा भाग लिए पछि दिसाजन्य लेदो व्यवस्थापनमा काम गर्ने सरसफाइर्मीले अपनाउनै पर्ने व्यक्तिगत स्वास्थ्य सुरक्षाका बिषयमा विस्तृतमा ज्ञान हासिल गरेको र तालिममा प्राप्त भएको ज्ञानलाई हुबहु पालना गरिरहेको उहाँले बताउनुभयो ।
सुरक्षित सरफाइ प्रणाली सुरक्षित गर्नका लागि फोहोरमैला व्यवस्थापनको क्षेत्रमा क्रियाशील सरसफाइकर्मीहरुको सुरक्षा सुरक्षित गर्न अत्यन्तै महत्त्वपूर्ण छ । जबसम्म हरेक व्यक्ति सुरक्षित हुुदैनन्, तबसम्म सबै सुरक्षित हुन सक्दैनन् र पूर्ण सरसफाइको लक्ष्य प्राप्त गर्न सकिँदैन । त्यसैले सबैभन्दा पहिले सरसफाइकर्मीको पेशागत स्वास्थ्य र सुरक्षामा ध्यान जानु जरुरी छ ।
अबको बाटो
नगरव्यापी समावेशी सरसफाइ नेपालको लागि नयाँ अवधारणा हो तर सरकारले बनाएको खानेपानी, सरसफाइ तथा स्वच्छता सम्बन्धी ऐन, कानुन, नीति निर्देशिका र अन्य दस्तावेजमा यसबारेमा पर्याप्त रुपमा समेटेको भेटिदैन । खानेपानी विभागका सिनियर डिभिज्नल इन्जिनियर सञ्जु लामिछाने नगरव्यापी समावेशी सरसफाइका बिषयमा छुट्टै निर्देशिका निर्माण गरी कार्यान्वयन गर्नुपर्ने बताउनुहुन्छ । ‘खानेपानी मन्त्रालयले नगरव्यापी समावेशी सरसफाइको निर्देशिका निर्माण गरिरहेको पनि छ, यसलाई चाँडै टुङ्ग्याएर नगरव्यापी समावेशी सरसफाइ अवधारणालाई व्यापक रुपमा लैजानुपर्छ, किनकि सरसफाइ सुविधाबाट कसैलाई पनि नछुटाउने र सबैलाई समेट्ने यो नै भरपर्दो अवधारणा हो ।’
एडमिनिस्ट्रेटिव स्टाफ कलेज अफ इण्डिया र एन्फोद्वारा आयोजित नगरव्यापी समावेशी सरसफाइ सम्बन्धी तालिममा सहभागी भएसँगै इञ्जिनियर लामिछानेले सरसफाइ लक्ष्य प्राप्त गर्नका लागि मानव स्रोतलाई मजबुत बनाउनु पर्ने आवश्यकतामा जोड दिनुभयो । उहाँले आजको समयमा ठोस फोहोर व्यवस्थापनको समेत एकदमै आवश्यकता रहेको उल्लेख गर्नुभयो । इञ्जिनियर लामिछानेले भविश्यका तालिमहरूमा ठोस फोहोर व्यवस्थापन र दिसाजन्य लेदो व्यवस्थापन दुवैलाई एउटैमा समावेश गर्ने आशा व्यक्त गर्नुभयो ।
यसका अतिरिक्त नगरव्यापी समावेशी सरसफाइ सम्बन्धी तालिमलाई राष्ट्रिय खानेपानी तथा सरसफाइ तालिम केन्द्रको वार्षिक क्यालेन्डरमा समावेश गर्नुले नेपालभर नगरव्यापी समावेशी सरसफाइको व्यापक प्रवर्धन र कार्यान्वयनमा महत्वपूर्ण भूमिका खेल्नेछ । यस लक्ष्यलाई अघि बढाउनको लागि राष्ट्रिय खानेपानी तथा सरसफाइ तालिम केन्द्रले डिसेम्बर २०२४ का लागि दोस्रो नगरव्यापी समावेशी सरसफाइ प्रशिक्षकको लागि प्रशिक्षण तालिम निर्धारण गरेको छ ।
यस पहलले नगरव्यापी समावेशी सरसफाइ प्रशिक्षकको लागि प्रशिक्षणको महत्त्व र प्रभावलाई झल्काउँछ, जसले क्षमता निर्माण गर्न र देशभर नगरव्यापी समावेशी सरसफाइ अभ्यासहरू अपनाउन योगदान पुर्याउनेछ ।
नगरव्यापी समावेशी सरसफाइलाई आफ्नो प्रशिक्षण कार्यक्रमहरूको प्राथमिकता बनाएर, राष्ट्रिय खानेपानी तथा सरसफाइ तालिम केन्द्रले पेशागत सीपलाई सुधार गर्दै र समावेशी सरसफाइ सेवाहरूको दिगो विस्तार सुनिश्चित गर्ने लक्ष्य राखेको छ ।