अस्पतालजन्य फोहोर सडकमा फाल्ने ॐ मेडिकल हललाई ५ हजार जरिवाना

  वास खबर सम्बाददाता  137 पटक हेरिएको

नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिकाले जथाभावी फोहोर फाल्नेलाई धमाधम कारबाही गरिरहेको छ । सडक तथा सार्वजनिक स्थानमा फोहोर फाल्नेलाई निरुत्साहित गर्ने उद्देश्यले कारबाही थालिएको उपमहानगरले जनाएको छ ।

मङ्गलबार बिहान मात्रै सडकमै स्वास्थ्यजन्य फोहोर फालेपछि एक मेडिकल हललाई जरिबाना गराइएको छ । त्रिभुवनचोक सदरलाइनस्थित हरि ॐ मेडिकल हललाई सडकमा जथाभावी स्वास्थ्यजन्य फोहोर फालेको पाइएपछि पाँच हजार रुपियाँ जरिबाना गरिएको नगर प्रहरी प्रमुख प्रहरी निरीक्षक सूर्यबहादुर बोगटीले बताउनुभयो ।

स्वास्थ्य महाशाखा र नगर प्रहरीको टोलीले निरीक्षणका क्रममा सडकमै स्वास्थ्यजन्य फोहोर फालेको पाएपछि ‘नेपालगन्ज उपमहानगरपालिकाको फोहोरमैला व्यवस्थापन ऐन २०७५’ बमोजिम मेडिकल हलका प्रोप्राइटर विनोदकुमार गुप्तालाई जरिबाना तिराएर कारबाही गरिएको बोगटीले बताउनुभयो ।

स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्द, नगर प्रहरी प्रमुख बोगटी, नगर प्रहरी सहायक निरीक्षक पवन कनोजिया सहितको टोली बिहान अनुगमनमा गएको थियो ।

एक साताअघि मात्रै नेपालगन्ज उपमहानगरपालिकाले सडकमा फोहोर फालेको पाइएपछि भेरी अस्पताल अगाडि रहेको अङ्कित मेडिकल हल तथा अङ्कित अल्ट्रासाउन्डलाई पाँच हजार रुपियाँ जरिबाना गरेको थियो । त्यसअघि मङ्सिर पहिलो साता सार्वजनिक स्थानमा फोहोर फालेपछि नेपालगन्जस्थित आशीर्वाद पेन्ट्स प्रालिलाई पनि १० हजार रुपियाँ जरिबाना गरिएको थियो ।

नगरलाई सफा, स्वच्छ र सुन्दर बनाउन सचेतना प्रवर्धन गर्दै आएको नेपालगन्ज उपमहानगरपालिकाले पछिल्लो समय कारबाही गर्न थालेको छ । नगर प्रमुख प्रशान्त विष्टले जथाभाबी फोहोर फाल्नेविरुद्ध निगरानी बढाइएको बताउनुभयो ।

फोहोर फाल्नेलाई ठाउँको ठाउँ कारबाही गरिने बताउँदै उहाँले फोहोर व्यवस्थापनमा सघाएर नगर सफा राख्ने अभियानमा साथ दिन नगरवासीलाई आग्रह गर्नुभएको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार