बैतडी १६ फागुन । बैतडी जिल्लाका अधिकांश स्कुलमा महिलामैत्री चर्पी नहुँदा महिनावारी हु्ने बेला घरमै बस्न बाध्य भएका छन् । स्कुलमा छात्रछात्राको अलग अलग चर्पी नहुँदा महिनावारी भएको बेला घरमै बस्न बाध्य भएको छात्राहरु बताउँछन् । छात्राका लागि छुट्टै चर्पी नहुँदा महिनावारी भएको बेला सेनेटरी प्याड फेर्न गाह्रो हुने भएकाले घरमै वस्नु परेको बैतडीको निंगलासैनी माबिका छात्राले बताएका छन् ।
स्कुलमा आएपछि महिनावारी भएमा बीचैमा कक्षा छाडेर जानुपर्ने बाध्यता रहेको छात्राहरुले सुनाए । कतिपय ठाउँमा महिनावारी भएको बेला मन्दिरको बाटो भएर स्कुल जानुपर्ने भएकाले पनि स्कुल छाड्नुपरेको छात्रा सीता बोहोराले बताउनुभयो । बैतडीमा अहिले पनि महिनावारी भएको बेला कसैलाइ छुन नहुने, दहीदुध खान नमिल्ने, घरबाट अलग बस्नुपर्ने परम्परा कायमै छ ।

महिनावारी भएको बेला मान्छेलाइ छोए देवता रिसाउँछन् भन्ने गलत मान्यताले झनै समस्या भएको छात्राहरु बताउँछन् । सुरक्षित महिनावारी राष्ट्रिय अभियान सञ्जाल बैतडीले स्वस्थ रहने हाम्रो चाहना, सुरक्षित महिनावारी हाम्रो अधिकार जस्ता नारा दिएर महिनावारी सरसफाइ र छाउपडी विरुद्धको अभियान सञ्चालन गर्दै आएको छ ।


1028 पटक हेरिएको 

