भेरी लिफ्टिङ खानेपानी आयोजनालाई प्रदेशले छुट्टायो बजेट

  वास खबर सम्बाददाता  114 पटक हेरिएको

सुर्खेत : भेरी लिफ्टिङ खानेपानी आयोजना अघि बढाउन प्रदेश सरकारले आर्थिक सहयोग गर्ने भएको छ । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा समेटेर उक्त योजनालाई सहयोग गर्न लागेको हो । अघिल्ला दुई आवमा समेत प्रदेश सरकारले बजेट विनियोजन गर्दै आएको थियो । बजेट कार्यान्वयनमा जान सकेको थिएन ।

चालु आवमा आयोजनाको ठेक्का सम्झौता भई काम अघि बढेकाले बजेट कार्यान्वयन हुने छ । कर्णालीवासीको आधारभूत खानेपानीको पहुँच सुनिश्चित गरी स्वच्छ, नियमित र गुणस्तरीय खानेपानी उपलब्ध गराउने नीति बमोजिम प्रदेश सरकारले ठुला खानेपानी आयोजना निर्माणमा सहयोग गर्दै आएको छ ।

खानेपानीका बहुवर्षीय र क्रमागत आयोजनालाई प्राथमिकतामा राखिएको प्रदेश सरकारले जनाएको छ । सोही उद्देश्य बमोजिम भेरी लिफ्टिङ आयोजनालाई अघि बढाउन बजेट विनियोजन गरिएको छ । चालु आवमा उक्त योजनाको कार्यान्वयनका लागि तीन करोड ५० लाख बजेट विनियोजन गरिएको हो ।

सरकारले ससाना आयोजना भन्दा ठुला आयोजनालाई प्राथमिकतामा राखेको हो । सरकारले अर्को ठुलो खानेपानी आयोजनाका लागि पनि बजेट विनियोजन गरेको छ । चालु आवको नीति तथा कार्यक्रम र बजेटमा समेटेर उक्त आयोजनालाई अघि बढाउन लागेको हो । सल्यानको शारदा बृहत खानेपानी आयोजना निर्माणका लागि बजेट विनियोजन गरेको छ ।

चालु आवमा एक करोड ५० लाख रुपियाँ बजेट विनियोजन गरिएको हो । यो वर्ष ठुला खानेपानीका योजनालाई प्राथमिकतामा राखिएको जलस्रोत तथा ऊर्जा विकासमन्त्री विजया बुढाले बताउनुभयो । भेरी लिफ्टिङ जस्ता आयोजना अघि बढाउन सरकारले जोड दिएको छ ।

भेरी लिफ्टिङ आयोजना अन्तर्गतका सुरुवाती चरणका काम धमाधम भइरहेका छन् । ट्याङ्की निर्माण र पाइपलाइन विस्तारको सर्भेको काम भइरहेको आयोजनाले जनाएको छ । आयोजना अन्तर्गत पाँच वटा ठुला ट्याङ्की निर्माण गरिनेछ । सुरुवाती चरणका काम धमाधम अघि बढेको खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वाधार सहयोग आयोजना एकाइका प्रमुख सञ्जीवकुमार साहले बताउनुभयो । उहाँका अनुसार पाइपलाइन विस्तारको प्रिफिजिविलिटी अध्ययनको काम धमाधम भइरहेको छ ।

भेरी नदीको पानी लिफ्टिङ गरेर तीन वर्ष भित्रैमा वीरेन्द्रनगर उपत्यकामा ल्याउने गरी निर्माण कार्य अघि बढाइएको छ । त्यसका लागि त्रिपक्षीय सम्झौता भई काम अघि बढेको हो । खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वाधार सहयोग आयोजना एकाइ कार्यालय सुर्खेत, वीरेन्द्रनगर नगरपालिका र चिनियाँ कम्पनी सिंज्याङ टम्र्स इन्टरनेशनल इकोनमी एण्ड टेक्निकल को–अपररेसन कम्पनी लिमिटेड बीच ठेक्का सम्झौता भएको हो ।

तीन वर्षमा निर्माण सम्पन्न गर्ने गरी सम्झौता गरिएको आयोजना एकाइका प्रमुख साहले जानकारी दिनुभयो । उहाँका अनुसार २०८१ भदौ १२ गतेदेखि २०८४ भदौ १२ गतेसम्म निर्माण सम्पन्न गरिसक्नुपर्ने छ । ३ अर्ब ५ करोड, ८ लाख १५ हजार २ सय ८० रुपैयाँ ६१ पैसामा ठेक्का सम्झौता गरिएको हो ।

सङ्घीयता कार्यान्वयनपछि खानेपानीको क्षेत्रमा सङ्घीय सरकारबाट स्थानीय तहले पाएको सबैभन्दा ठुलो लगानीबाट भेरी लिफ्टिङ खानेपानी आयोजना बन्न लागेको खबर गोरखापत्रमा छापिएको छ। भेरी लिफ्टिङ खानेपानी आयोजना निर्माणका लागि कुल लागतको ७० प्रतिशत खर्च विश्व बैङ्कले बेहोर्ने छ । बाँकी ३० प्रतिशत रकम सङ्घ, प्रदेश र स्थानीय तहको साझेदारीमा लगानी गरिने छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार