काठमाडौ : सहलगानी खानेपानी तथा सरसफाइ आयोजनाका आयोजना निर्देशक एवं नेपाल सरकारका सहसचिव नारायण प्रसाद आचार्य सम्मानित हुनु भएको छ । चन्द्रागिरी नगरपालिकाको वडा नं. १५ स्थित तीनथाना खानेपानी तथा सरसफाइ मूल उपभोक्ता समितिको ९ औं साधारण सभामा उहाँ सम्मानित हुनु भएको हो ।
उपभोक्ता समितिको बार्षिक साधारण सभाका प्रमुख अतिथि समेत रहेका आचार्यलाई उपभोक्ता समितिका अध्यक्ष तोरण थापाले सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गर्नुभयो । खानेपानीको दिगोपना तथा गुणस्तर सुधारका लागि उहाँले पुर्याउनु भएको योगदान र अमूल्य सल्लाह सुझावको कदर गर्दै सम्मान गरिएको समितिका अध्यक्ष तोरण थापाले बताउनुभयो । ‘साधारण सभाको अवसरमा उहाँलाई सम्मान गर्न पाउँदा सिङ्गो संस्था गौरवान्वित भएका छौं, हामी उहाँको उत्तरोत्तर प्रगतिको कामना गर्दछौं’ उहाँले भन्नुभयो ।
अध्यक्ष थापाले सम्मानित हुनुभएका आयोजना निर्देशक आचार्यबाट भावी दिनमा समेत खानेपानीको गुणस्तर सुधार र वितरण कार्यमा पनि सहयोगको अपेक्षा गर्नुभयो ।
साधारण सभामा विश्व स्वास्थ्य संगठन (डब्लु.एच.ओ.) का नेशनल प्रोफेस्नल अफिसर डा. सुदनराज पन्थी र खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नेपालका राष्ट्रिय अध्यक्ष राजेन्द्र अर्याल विशेष अतिथि हुनुहुन्थ्यो । साधारण सभामा सयौं उपभोक्ताको उपस्थिति रहेको थियो।