भ्याकुम ट्रक : सेप्टिक ट्याङ्क खाली गर्ने मेसिन, जसले दमकलको समेत काम गर्छ

  वास खबर सम्बाददाता  152 पटक हेरिएको


काठमाडौ : शौचालयको सेप्टिक ट्याङ्क खाली गर्न यान्त्रीकरण सुरु भएसँगै नेपालमा पनि अत्याधुनिक साधन भित्रिन थालेका छन् । पछिल्ला समय तराईका केही जिल्लाहरुमा सेप्टिक ट्याङ्क खाली गर्न भ्याकुम ट्रकको प्रयोग गर्न थालिएको छ ।

भ्याकुम ट्र्क सेप्टिक ट्याङ्कलाई खाली गर्ने उद्देश्यले नै बनाएको मेसिन हो । यो मेसिनको सहायताले सेप्टिक ट्याङ्क खाली गर्दा सेप्टिक ट्याङ्क भित्र रहेका बिकार बस्तुहरु सबै राम्रो सँग तानिने र सेप्टिक ट्याङ्क पूरै खाली हुने हुन्छ ।

विदेशमा समेत सेप्टिक ट्याङ्क खाली गर्ने काम गरी नेपाल फर्केर पनि भ्याकुम ट्रक चलाईरहनु भएका झापाका गोविन्द गिरीका अनुसार भ्याकुम ट्रक विदेशमा चलाएको गाडी भन्दा कमको छैन । उहाँका अनुसार सबैभन्दा राम्रो भनेको यो ठूलो पावरको भएकाले सेप्टिक ट्याङ्क भित्रका सबै बस्तु तानेर खाली गर्छ ।

जत्ति तान्ने क्षमता छ, त्यत्ति नै फाल्ने क्षमता पनि छ यसमा । यो ट्रकमा पानी भरेर साना तिना आगो निभाउन पनि प्रयोग गर्न सकिन्छ । किनकि यसले तान्ने मात्र नभई उस्तै पावरमा फाल्ने काम पनि गर्छ ।


यो ट्रकको ट्याङ्कीमा दुई खण्ड छन् । एउटा खण्ड सफा पानी बोक्न प्रयोग गरिन्छ भने अर्कोमा सेप्टिक ट्याङ्कको मानव मलमूत्र तानेर भण्डारण गर्न ।

सफा पानी बोक्ने छुट्टै खण्ड भएकाले नुहाउन हात धुन र सेप्टिक ट्याङ्कमा पानी हालेर घोल्न पनि सकिन्छ । यो खण्डमा ३ हजार लिटर पानी अटाउन सकिने काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका भ्याकुम ट्रक चालक गोविन्द गिरीले बताउनुभयो ।

उहाँका अनुसार यो ट्रकमा मानव मलमूत्र मात्र ६ हजार लिटर अटाउन सकिन्छ । हाईड्रोलिक सिस्टमको भएकाले यसको ट्याङ्कीलाई जुरुक्क उठाएर यस भित्र भएका सबै पदार्थहरु सफा गर्न पनि सकिन्छ ।

भ्याकुम ट्रकको थप विशेषता बारे हेर्नुहोस् यो भिडियो :

सुरक्षित सरसफाइका लागि भ्याकुम ट्रक अनिवार्य साधन हो । यदि सरसफाइलाई सुरक्षित रुपमा व्यवस्थापन गर्ने हो भने सेप्टिक ट्याङ्क खाली गर्ने क्रममा कहीं कतै चुहिनु हुँदैन भने ढुवानी गर्ने क्रममा पनि कहीं कतै पनि खसालेको वा चुहाएको हुनु हुँदैन ।

त्यत्ति मात्र नभई यसमा काम गर्ने सरसफाइ कर्मचारी पनि सुरक्षित हुनुपर्छ । भ्याकुम ट्रकमा सरसफाइ कर्मचारीलाई मानव मलमूत्रसँग संसर्ग हुनबाट जोगाउने तरिकाहरु समेत अबलम्बन गरिएको छ । मानव मलमूत्र भरिएको संकेत दिने, दुई जना कर्मचारीलाई नुहाउन पुग्ने पानी भण्डारण गर्न मिल्ने लगायत अन्य थुप्रै तरिकाहरु, सरसफाइ कर्मचारीको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर बनाईएको छ ।

काठमाडौ उपत्यका लगायत अन्य धेरै ठाउँमा सेप्टिक ट्याङ्क खाली गर्न प्रयोग गरिने साधन त्यही कामका लागि उत्पादन नगरिएको हुँदा सरसफाइ कर्मचारी सधैं जोखिममा हुन्छन् ।

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार