कञ्चनपुर : खानेपानी मन्त्री प्रदीप यादव नेतृत्वको टोलीले कञ्चनपुरको पूनर्वास नगरपालिकामा निर्माणाधीन ढल आयोजनाको निरीक्षण गरेको छ । संघीय खानेपानी मन्त्रालय, खानेपानी तथा ढल व्यवस्थापन विभागको लगानी रहेको ढल निर्माण आयोजनाको मन्त्री यादव सहित खानेपानी सचिव प्रमिलादेवी शाक्य बज्राचार्य र खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ई.राम कुमार श्रेष्ठ लगायतले निरीक्षण गर्नुभएको हो ।
पुनर्वास नगरपालिकाको वडा ३ र ४ मा निर्माण भैरहेको ढल आयोजनाको निरीक्षण गर्दै खानेपानी मन्त्री यादवले नागरिकलाई सुरक्षित सरसफाइ सेवा प्रदान गर्ने सरकारको दायित्व भएकाले समयमै काम सक्न र बजेटको अधिकतम सदुपयोग गर्न निर्देशन दिनुभयो । ढल निर्माणको कार्यान्वयन संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कन्चनपुरले गरिरहेको छ।
आर्थिक बर्ष २०७८/०७९ देखि सुरु भएको यो आयोजना ढल प्रणाली सहित ढलबाट निस्केको फोहोरबाट मल उत्पादन गर्ने हिसाबले निर्माण भैरहेको हो । एका तिर ढल व्यवस्थापन हुने र अर्का तिर सोही ढलबाट आएको फोहोरमैला बस्तु प्रशोधन गरेर प्राङ्गारिक मल उत्पादन गर्ने योजना रहेको छ । यसबाट फोहोर व्यवस्थापनका साथै किसानलाई सहजै प्राङगारिक मल उपलब्ध हुने अपेक्षा गरिएको छ ।