गण्डकीको ५ जिल्लामा फोहोर व्यवस्थापन अभियान सञ्चालन

  वास खबर सम्बाददाता  147 पटक हेरिएको

पोखरा : गण्डकी प्रदेशको ५ जिल्लामा फोहोर व्यवस्थापन अभियान सञ्चालन गरिएको छ। राष्ट्रिय प्रकृति संरक्षण कोष अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्यापले फोहोर व्यवस्थापन अभियान सञ्चालन गरेको खबर अन्नपूर्ण पोष्टले प्रकाशन गरेको छ।

 

दीर्घकालीन रूपमा फोहोर मुक्त गाउँ सहर बनाउने तथा पर्यटकीय क्षेत्रहरूको संरक्षणका लागि अभियान सञ्चालन गरिएको एक्याप जोमसोमका कार्यालय प्रमुख प्रमोदराज रेग्मीले बताए।

अभियानबाट पर्यटकीय जिल्लाहरूका पर्यटकीय स्थल, पदमार्ग र पर्यटकीय गाउँहरूलाई  स्वच्छ र सफा हुने विश्वास गरिएको छ।

एक्यापले फोहोरमैलाको व्यवस्थापन गर्न आमा समूह, संरक्षण व्यवस्थापन समिति, उपसमिति, पर्यटन व्यवसायी र सम्बन्धित पालिकाहरूलाई सहकार्य गर्न अनुरोध गरेको छ।

अभियानअन्तर्गत मुस्ताङको घरपझोङ-५ ठिनी र घरपझोङ—३ स्याङमा जम्मा भएको संकलित फोहोरलाई एक्यापले ट्रक ढुवानी गरी व्यवस्थापन सुरु गरेको छ। वडा कार्यालय, आमा समूह र संरक्षण क्षेत्र व्यवस्थापन समितिको पहलमा  पुनः प्रयोगमा आउने फोहोर उठाउन सुरु गरेको प्रमुख रेग्मीले बताए।

जसअन्तर्गत  घरपझोङ गाउँपालिकाको ठिनी र स्याङ गाउँमा संकलित प्लास्टिक र धातुजन्य फोहोर ५४ बोरा र  सिसाजन्य १ हजार २३९ केजी फोहोर रिसाइकल प्रयोजनार्थ पोखरा पठाइएको छ।

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार