
धादिङ : ज्वालामुखी गाउँपालिकाको वडा नं ७ गाउँपालिकाको दोस्रो नमूना सफा र स्वच्छ वडा घोषणा भएको छ । वडा नं. ७ का अध्यक्ष ज्ञानेन्द्र प्रसाद खकुरालको अध्यक्षतामा नेपाल सरकार कृषि तथा पशुपन्छी मन्त्रालयका मन्त्री रामनाथ अधिकारीको प्रमुख अतिथ्यता, वागमती प्रदेश सभा सदस्य गोविन्द लम्साल,ज्वालामुखी गाउँपालिकाका अध्यक्ष यामनाथ दनैको विशेष आतिथ्यतामा वडा नं ७ लाई नमूना सफा र स्वच्छ वडा घोषणा गरिएको हो।
ज्वालामूखीको शान, सफा स्वच्छ गाउँको पहिचान भन्ने मुख्य नारा सहित सरसफाइको दोस्रो चरण र पूर्ण सरसफाइको पहिलो चरण सफा स्वच्छ गाउँको चरणमा ५ वटा व्यवहारका १५ वटा सुचक र ४५ वटा उपसुचकहरु पुरा गरी वडा नं ७ का ९५७ घरधुरीलाइ सफा स्वच्छ वडा घोषणा गरिएको हो ।
पूर्ण सरसफाइ मार्गदर्शन २०७३ अनुसारको पहिलो चरणमा सफा र स्वच्छ घरको ५ वटा व्यवहार पुरा गर्नको लागि १५ वटा सूचक र ४५ वटा उपसुचकहरु मापनको आधारमा घोषणाको चरणमा पुगिएको हो । यसका ५ वटा व्यवहारहरुमा १) चर्पीको समुचित प्रयोग २) व्यक्तिगत सरसफाइ ३) सुरक्षित खानेपानी ४) सुरक्षित र स्वच्छ खाना ५) घर तथा आँगनको सरसफाइ रहेका छन् ।
यी सवै व्यवहार पुरा गर्नका लागि मापन गरिने सुचकहरु सवै घरधुरीमा शतप्रतिशत पुरा भएका छन् । ज्वालामूखी गाउँपालिकाले राज्यको नीतिलाइ मुख्य लक्ष्य वनाइ आफ्नो पालिकामा सरसफाइ रणनीति २०७६ निर्माण गरी सरसफाइको पहिलो चरण सफा स्वच्छ गाउँ घोषणा अभियान अन्तर्गत २०७६ माघ महिनाको २९ गतेका दिन धादिङ जिल्लाकै पहिलो ३०७ घरधुरी घोषणा चरण सम्म पुगेको थियो।

क्रमशः पालिकाका अन्य टोलहरु घोषणा गर्दै वडा नं ७ लाइ पालिकाको दोस्रो वडा घोषणा गरिएको हो । यस अघि २०८१ कात्तिक ११ गते वडा नं ६ घोषणा भएको थियो । यसै वडाका ४ वटा टोल टोलका १६३ घरधुरी १ वर्ष अघि घोषणा गरिए सँगै निरन्तर अभियानको रुपमा सवै वडा सञ्चालन भएको हो । समग्रमा वडा नं ७ मा जम्मा १२ वटा टोलका ७१९ घरधुरी घोषणा भएको छ ।
गाउँपालिकाले पछिल्लो २ वर्ष यता खानेपानी र सरसफाइ सेक्टर हेर्नका लागि खानेपानी र सरसफाइ व्यवस्थापन बोर्ड स्थापना गरी बोर्ड मोडल मार्फत अभियान प्राथमिकताका साथ अगाडि वढाएको हो । ग्रामीण भेगमा सञ्चालित बोर्ड मोडल मार्फत खानेपानी र सरसफाइलाइ समानान्तर रुपमा सञ्चालन भएको देशकै पहिलो मोडल र अभियान हो ।
पालिकामा हाल सम्म घोषणा भएका घरधुरी संख्या २ हजार ७३९ र पाइपलाइनमा रहेका घरधुरी संख्या १ हजार ६६५ रहेका छन् । २०८२ सफा तथा स्वच्छ गाउँपालिका बनाउने लक्ष्य गाउँपालिकाले लिएको छ भने एक घर एक मिटर सहितको धारा रहेको गाउँपालिका घोषणा गर्ने लक्ष्य रहेको छ । जस अनुरुप गाउँपालिका भित्रका घरधुरीहरु मध्ये ६२ प्रतिशतले सुरक्षित खानेपानी प्रयोग गरेका छन् भने झण्डै ८० प्रतिशत घरधुरीमा एक घर एक धारा निर्माण भैसकेका छन् । तर निर्माण भएका संरचनाहरुको व्यवस्थापन र दियो संचालनको लागि थुप्रै कार्यहरु गर्न वाँकी रहेको ज्वालामुखी खानेपानी र सरसफाइ व्यवस्थापन बोर्डका प्रबन्धक सबिना रेग्मीले बताउनुभयो।

समग्रमा यो अभियान एक त राज्यले तय गरेको नीति अवलम्न गर्ने स्थानीय तह र आम नागरिकको प्रमुख जिम्मेवारी रहन्छ भने सरसफाइ र स्वच्छताका व्यवहार पूरा गर्दा आम नागरिकहरुको व्यक्तिगत स्वच्छतामा सकारात्मक सुधार आउनेछ । सुरक्षित खानेपानीको प्रयोग र जोखिम पूर्ण अवश्थामा सावुन पानीले हात धुँदा पानी जन्य रोकको संक्रमण वच्न सकिन्छ । त्यसकारण पनि खानेपानीको उचित व्यवस्थापन संगै गाउँपालिका वासीलाई सुरक्षित खानेपानी उपलव्धताको लागि घरेलु स्तरमा फिल्टर विधिवाट पानी शुद्दिकरणको व्यवस्थापनको लागि एक घर एक फिल्टर र डस्विनको उपलव्धता गरिएको हो ।
उक्त सामग्री सहयोगमा समुदाय, गाउँपालिका, खानेपानी बोर्ड र अन्य संघ सस्थाहरुको समन्वय तथा आर्थिक प्राविधिक सहयोगमा उपलव्ध गराइएको हो । सरसफाइले व्यक्तिको स्वास्थ्यमा सकारात्मक प्रभाव ल्याउँछ जसको कारण व्यक्ति, समाज र सिंगो गाउँपालिकाको आर्थिक, सामाजिक लगायत सर्वपक्षीय सुधार देखिने भएकाले गाउँपालिकाले अभियानको रुपमा ल्याएको हो ।

वडा घोषणा पछिको निरन्तरताको लागि टोल विकास संस्थालाई सक्रिय गराइ नियमित रुपमा टोलका घरधुरी अनुगमन तथा पृष्ठपोषण दिने र समुदायमा निरन्तरताको लागि उत्साह दिइने गाउँपालिका अध्यक्ष तथा वडा अध्यक्षले वताउनु भएको छ ।
कार्यक्रम समापनको क्रममा गाउँपालिका अध्यक्ष यामनाथ दनैले वडालाइ घोषणाको चरण सम्म ल्याउनका खातिर विगत लामो समय देखि सहकार्यमा रहेका टोल विकास संस्था,आमा समुह,म स्वा से, अनुगमन समिति, विद्यालय,स्वास्थ्य संस्था रहेका छन् त्यस्तै गरी विकास साझेदारी संघ संस्थाहरुमा खानेपानी संरचना निर्माण र सरसफाइमा सहयोग गर्ने फोकस नेपाल,अक्सफाम नेपाल, वाइन टु वाटर नेपाल र यो अभियानको शुरुवाती चरण देखि नेतृत्वदायी भूमिकामा रहेको शान्ति नेपाल र हाल सि टि एस नेपालको सहयोग प्राप्त भएकामा सवैलाइ धन्यवाद व्यक्त गर्नुभयो।

कार्यक्रममा विभिन्न पाटी प्रमुख र प्रतिनिधिहरुले अभियान महत्वपूर्ण रहेकोले सवैले साथ र सहयोग गरी सवै वडामा घोषणाको चरण सम्म पुर्याउनुपर्ने सल्लाह र सुझाव दिएका छन् । कार्यक्रमको समापन गर्दै वडा अध्यक्ष ज्ञानेन्द्र प्रसाद खकुरालले कृषि, सिंचाइ, खानेपानी सरसफाइ र सडक कालोपत्रे लगायत माग पेश गरी मन्त्री ज्यू समक्ष वुझाइएको वताउनु भयो ।


662 पटक हेरिएको 

