झापा : झापा जिल्लाको कमल गाउँपालिका जिल्लाको दोस्रो खुल्ला दिसामुक्त गाउँपालिका घोषित भएको छ । मंगलबार आयोजित समारोहका प्रमुख अतिथि प्रदेश सभा सदस्य हिक्मत कार्कीले कमल गाउँपालिकालाई जिल्लाको दोस्रो खुल्ला दिसामुक्त घोषणाको प्रमाणपत्र प्रदान गर्नुभयो ।

यसअघि बुद्धशान्ति गाउँपालिका खुल्ला दिसामुक्त घोषणा भएको थियो । स्थानीय जनप्रतिनिधि निर्वाचित भैसकेपछिको भने यो पहिलो गाउँपालिका हो ।
सोही समारोहमा प्रमुख अतिथि कार्कीले कमल गाउँपालिकाको तीन वर्षीय पूर्ण सरसफाइ कार्ययोजना सार्वजनिक गर्नुभयो । पूर्ण सरसफाइ कार्ययोजना सार्वजनिक गर्ने कमल गाउँपालिका झापाको पहिलो स्थानीय तह हो ।
तोपगाछी र लखनपुर मिलेर बनेको कमल गाउँपालिकामा तोपगाछी यसअघि नै खुल्ला दिसामुक्त घोषणा भैसकेको छ ।
५ हजार ४ सय २४ घरधुरी रहेको साविक तोपगाछीमा खुल्ला दिसामुक्त अभियान सुरु हुनुअघि ३ हजार ८ सय ४४ घरमा सुरक्षित शौचालय थिए भने अभियानको क्रममा १ हजार ५ सय ८० चर्पी निर्माण गरी साविक तोपगाछी सहित कमल गाउँपालिकालाई नै खुल्ला दिसामुक्त घोषणा गरिएको हो ।

घोषणा समारोहमा बोल्दै प्रमुख अतिथि कार्कीले सामाजिक समुन्नतिका लागि सामाजिक र मानवीय विकासलाई पहिलो प्राथमिकता दिनुपर्ने बताउनुभयो । उहाँले कमल गाउँपालिकालाई सरसफाइ नमूना गाउँपालिका बनाउने कार्यमा प्रदेश सरकारको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । कमल गाउँपालिकाको तीन वर्षे पूर्ण सरसफाइ कार्ययोजनालाई कार्यान्वयनमा ल्याउनका लागि सहयोग गर्ने सम्पूर्ण साझेदारहरुलाई उहाँले आग्रह गर्नुभयो ।
ग्लोबल स्यानिटेसन फण्ड कार्यक्रम/यू.एन. ह्याबिट्याटका जिल्ला संयोजक विनोदप्रसाद शर्माले पूर्ण सरसफाइ कार्ययोजना सार्वजनिक गरेर कमल गाउँपालिकाले अन्य स्थानीय तहहरुलाई सरसफाइको पाठ सिकाएको बताउनुभयो । कमल गाउँपालिकालाई पूर्ण सरसफाइयुक्त बनाउने कार्यमा आफूहरुको सहयोग निरन्तर रहने उहाँले बताउनुभयो ।
घोषणा समारोहपूर्व ब्यानर र प्लेकार्डसहितको गाउँ गौरव यात्रा सम्पन्न गरिएको थियो ।
अध्यक्ष काफ्लेलाई सरसफाइ च्याम्पियन अवार्ड
खुल्ला दिसामुक्त अभियान, ग्लोबल स्यानिटेसन फण्ड कार्यक्रमको तर्फबाट कमल गाउँपालिका अध्यक्ष एवम् गाउँपालिका स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिका अध्यक्ष मेनुका काफ्लेलाई सरसफाइ च्याम्पियन अवार्ड प्रदान गरियो ।

ग्लोबल स्यानिटेसन फण्ड कार्यक्रमको साझेदार संस्था सहारा नेपालका सहसचिव एल.बी. गिरी लगायतका अतिथिहरुले सो अवार्ड प्रदान गर्नुभएको हो । सोही अवसरमा खुल्ला दिसामुक्त अभियानको कुशल व्यवस्थापन गरे वापत गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज ढकाललाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
जनप्रतिनिधिको अगुवाइमा खुल्ला दिसामुक्त घोषणा गर्ने गाउँ/नगरपालिकालाई जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिले प्रदान गर्ने सरसफाइ च्याम्पियन अवार्ड भने कमल गाउँपालिकाले जिल्ला खुल्ला दिसामुक्त घोषणाको अवसरमा प्राप्त गर्नेछ ।
र यो पनि पढ्नुहोस् …………..
http://washkhabar.com/news/4202


2086 पटक हेरिएको 

