काठमाडौंमा फोहरपानी प्रशोधन गर्ने प्लान्ट स्थापना, प्रतिदिन ५ हजार लिटर प्रशोधन हुने

  वास खबर सम्बादाता  396 पटक हेरिएको

काठमाडौ : काठमाडौं महानगरपालिकाको केन्द्रीय कार्यालय परिसरमा रहेको शौचालयबाट निस्कने फोहर पानी प्रशोधन गर्न नयाँ ट्रिटमेन्ट प्लान्ट स्थापना गरिएको छ। यो प्लान्ट प्रतिदिन ५ हजार लिटर फोहर पानी प्रशोधन गर्न सक्षम रहेको महानगरका वातावरण व्यवस्थापन विभाग प्रमुख सरिता राईले जानकारी दिनुभयो।

उहाँका अनुसार प्लान्टको निर्माण लागत करिब २० लाख रुपैयाँ रहेको छ। “यो नमूना योजना हो,” राईले भन्नुभयो, “नतिजा हेरेर यसको दायरा विस्तार गरिनेछ। काठमाडौंको सफाइका लागि अब तरल फोहर पनि व्यवस्थापन गर्नुपर्छ भन्ने सोचका साथ सानो एकाइबाट परीक्षण गरिएको हो।”

इञ्जिनियर निशा कोइरालाले यो प्लान्टमा एरोबिक र एनएरोबिक दुवै विधिबाट फोहर पानी प्रशोधन गरिने जानकारी दिनुभयो। “शौचालयबाट आएको फोहर पानी प्लान्टमा पुग्नेबित्तिकै सुरुमा सेडिमेन्टेसन विधिबाट ठोस र तरल छुट्याइन्छ,” उहाँले भन्नुभयो, “त्यसपछि एनएरोबिक विधिबाट प्रशोधन हुन्छ, त्यसपछि एरोबिक, अन्तिममा फिल्ट्रेसन र डिसइन्फेक्सन प्रक्रिया हुन्छ। यसरी प्रशोधित पानी दुर्गन्धरहित हुने र बोटविरुवामा प्रयोग गर्न मिल्ने बनाइन्छ।”

इञ्जिनियर रामप्रसाद नेपालले प्लाजा परिसरमा जम्मा ७२ वटा शौचालय रहेको जानकारी दिनुभयो। “हाललाई ४४ वटा शौचालयबाट आएको फोहर पानी नमूनाका रूपमा प्रशोधन गरिएको छ,” उहाँले भन्नुभयो, “प्लाजामा दैनिक झण्डै ९ हजार लिटर पानी प्रयोग हुन्छ, परीक्षण सफल भएको खण्डमा थप शौचालयको फोहर पानी मिसाएर प्लान्टको क्षमता विस्तार गरिनेछ।”


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार