
जाजरकोट : छेडागाड नगरपालिका–१३ ले आफ्नो समुदाय ‘सफा तथा स्वच्छ क्षेत्र’ को गौरवमय सूचीमा अभिलेख गराएको छ । जिल्ला समन्वय समितिका सदस्य खडक बहादुर वि.सी. को प्रमुख आतिथ्यमा, पूर्ण सरसफाइ उन्मुख घोषणा सहित उक्त वडाले नयाँ पहिचान बनाएको हो ।
घोषणाकै अवसरमा वडामा सरसफाइ अभियानमा योगदान पुर्याउने सम्पूर्ण तहका प्रतिनिधिहरूको उपस्थितिले उत्साह थपेको थियो।

गाउँपालिकाका निर्वाचित जनप्रतिनिधिहरू, प्रमुख प्रशासकीय अधिकृत गंग बहादुर आर.सी., ८ वटा विद्यालयका शिक्षक–विद्यार्थीहरू, नागरिक समाजका अगुवा तथा सरसफाइ अभियन्ता राजेन्द्र विक्रम शाह, रेडियो पाइला रेडियो पाइला एफ. एम. का बालकुमार शर्मा, हेल्भेटास नेपालका क्षमता विकास विज्ञ नीलकण्ठ पाण्डे, इञ्जिनियर निरीमा थापा, स्थानीय साझेदार संस्थाका बोर्ड सदस्य राजु के.सी. र वार्डवासी उपभोक्ताहरूको सहभागिता सराहनीय रह्यो।
घोषणासभा वडा अध्यक्ष तथा वार्डस्तरीय खानेपानी तथा सरसफाइ समन्वय समिति संयोजक मतिलाल खत्रीको सभापतित्वमा सम्पन्न भयो। सभामा वडा सचिव वालकृष्ण खत्रीले एकीकृत जलस्रोत व्यवस्थापन कार्यक्रम अन्तर्गत सम्पन्न कार्यको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै पालिकाद्वारा सूचकको अनुगमन र प्रमाणीकरण भइसकेको जानकारी गराउनुभयो।
कार्यक्रम पछि सामूहिक प्रतिबद्धता सहित आगामी दिनमा यसको दीगो सञ्चालनमा सबै पक्ष एक ढिक्का भएर लाग्ने वाचा गरिएको थियो।

प्रगतिको आँकडाः
लाभान्वित घरधुरी संख्या : ६९०
हरेक घरमा फोहर फाल्ने खाडल तथा भाँडा सुकाउने चाङ :६९०
धारा सहितको ड्रम : ६९०
पानी शुद्धिकरणका लागि क्यान्डिल फिल्टर
फलामको इनसिनेरेटर
६ स्थानमा सार्वजनिक फोहर फाल्ने खाडलहरू

संघसंस्थाहरू :
विद्यालय : ८
स्वास्थ्य इकाइ: २
वडा कार्यालय : १
खानेपानी तथा सरसफाइ योजना
गाउँपालिका तथा हेल्भेटास नेपालको सहकार्यमा सञ्चालित ४ वटा खानेपानी तथा सरसफाइ योजना मार्फत ४६६ घरधुरीमा ‘१ घर १ धारा’ जडान भइसकेको छ, जसको कुल लागत करिब ३ करोड रुपैयाँ रहेको हेल्भेटास नेपालका क्षमता विकास विज्ञ नीलकण्ठ पाण्डेले जानकारी गराउनुभयो। उहाँका अनुसार बाँकी घरधुरीमा पनि सफा पानीको सुविधा विस्तार भइसकेको छ।
विद्यालयहरूमा स्वच्छता सुनिश्चित गर्न फोहर व्यवस्थापन, बहुधारा सहितको हातधुने स्थान निर्माण र माध्यमिक विद्यालय स्तरमा महिनावारी सरसफाइ व्यवस्थापनका लागि इन्सिनेरेटर जडान जस्ता कार्यहरू सम्पन्न भइसकेका क्षमता विकास विज्ञ पाण्डेले जानकारी गराउनुभयो।
स्थानीय साझेदार संस्था पहाडी क्षेत्र विकास अभियान (एच.आर .डि.सी.), जाजरकोट को सहजीकरणमा फिल्ड संयोजक लोक बोहरा, सामुदायिक सहजकर्ता दीपा विक र गोपाल बहादुर सिंहको अथक प्रयासले यो अभियानले मूर्त रुप लिन सक्यो।
छेडागाड नगरपालिका–१३ को यो उपलब्धि केवल भौतिक पूर्वाधारको विकास मात्र नभई सामुदायिक चेतनाको उचाइ पनि हो। सफा तथा स्वच्छ वडाको घोषणाले स्थानीय तहको नेतृत्व, साझेदार संस्थाको सहकार्य र जनसहभागिताले कसरी दीगो परिवर्तन सम्भव हुन्छ भन्ने प्रेरणादायी सन्देश दिएको छ।


368 पटक हेरिएको 

