
सिन्धुली : सिन्धुली जिल्लाको कमलामाई नगरपालिका, वडा नं. २ को निबुवाटार र तल्लो बोहोरे टोललाई एकसाथ सफा र स्वच्छ टोल घोषणा गरिएको छ ।
कमलामाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र कुमार पोखरेलको प्रमुख आतिथ्यता तथा वडा नं. २ का वडा अध्यक्ष इन्द्र वाइवाको अध्यक्षतामा निबुवाटार टोलका २५ घर र तल्लो बेहोर टोलका २७ गरी ५२ घरधुरी भएका दुई टोललाई सफा र स्वच्छ टोल घोषणा गरिएको हो ।
कमलामाई नगरपालिकाको पूर्ण सरसफाइ मार्गदर्शन अनुसार स्वच्छ र सफा क्षेत्र स्वघोषणाका लागि आवश्यक सबै सूचक पूरा भएपछि कमलामाई नगरपालिका वडा नं. २ निवुवाटार र तल्लो बोहोरे टोललाई सफा र स्वच्छ क्षेत्र घोषणा गरिएको सहजीकरण गर्ने संस्था मानव तथा राष्ट्रिय विकास समाज (ह्याण्ड्स) नेपाल, सिन्धुलीका कार्यक्रम अधिकृत नवराज श्रेष्ठले जानकारी दिनुभयो।
प्लान इन्टरनेशनल नेपालसँगको साझेदारीमा मानव तथा राष्ट्रिय विकास समाज नेपाल सिन्धुलीको सहजीकरणमा सिन्धुलीमा सञ्चालित बालिका सशक्तीकरण परियोजना अन्तर्गत खानेपानी, सरसफाइ र स्वच्छता सम्बन्धी विभिन्न कार्यक्रमहरु सञ्चालन गरी पूर्ण सरसफाइका ७ सुचक तथा व्यवहारहरु पूरा गरिएको अनुगमन समितिले जनाएको छ ।

परियोजनाले खानेपानी, सरसफाइ र स्वच्छता व्यवहार परिवर्तन अन्तर्गत विभिन्न टोल तथा समुदायमा स्वच्छता बानीव्यवहार परिवर्तन सम्बन्धी कक्षाहरु सञ्चालन गरी कार्ययोजना तयार गर्नुका साथै नियमित अनुगमन कार्यक्रम समेत सञ्चालन गरेको थियो ।
निश्चित टोलभित्र बसोबास गर्ने समुदायको सबै घरपरिवारको सरसफाइ र स्वच्छता सम्बन्धी व्यवहार परिवर्तन भई स्वच्छ र सफा क्षेत्र घोषणाका लागि आवश्यक सूचकहरु पूरा भएपछि वडा स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिले प्रमाणीकरण गरी नगरपालिका स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति समेत अनुगमन गरी सूचक प्रमाणीकरण गरेको ह्याण्ड्स नेपालका कार्यक्रम प्रवन्धक रोहित कुमार ढकालले जानकारी दिनुभयो ।
घोषणा कार्यक्रको अवसरमा २ टोलका ५२ घरधुरीका अभिभावहरुले पूर्ण सरसफाइका ७ सुचकहरुलाई नियमित कार्यान्वयमा ल्याउने र आफ्नो टोललाई सफा र स्वच्छ कायम राख्न प्रतिवद्धता पत्रमा हस्ताक्षर समेत गर्नुभएको छ ।
कार्यक्रममा सफा र स्वच्छ टोलको लागी पूर्ण सरसफाइका सुचकहरु पूरा गर्न सहयोग गर्ने सहजकर्ता पूर्णिमा डिम्दोङलाई सामाजिक व्यवहार परिवर्तनमा सहयोग गरे बापत सम्मान गर्नुका साथै आफ्नो घर सधै सफा गने, र सबैभन्दा पहिले सूचक पूरा गर्ने ६ जना अभिभावकलाई समेत सम्मानित गरिएको थियो ।
घोषणा कार्यक्रममा बोल्दै नगर प्रमुख उपेन्द्र कुमार पोखरेलले घर, टोल, वडा मात्रै नभई नगरपालिकालाई नै सफा र स्वच्छ घोषणा गर्ने योजना भएकोले सरसफाइ कार्यक्रमलाई नगरपालिकाले पहिलो प्राथमिकलामा राखेको जानकारी दिनुभयो । सफा र स्वच्छता घोषणा कार्यक्रम घोषणको लागि मात्र नभई यसले मानवीय जीवनस्तर, आत्मसम्मान र स्वाभिमानमा समेत सकारात्मक परिवर्तन ल्याई सामाजिक र मानवीय विकासका लागि समेत उल्लेख्य भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।
घोषणा सभामा दुबै टोलका बासिन्दा सरसफाइ र स्वच्छता सम्बन्धी ¥याली सहित सभामा सहभागी हुनुभएको थियो । कार्यक्रममा कमलामाई नगरपालिकाका बातावरण शाखा प्रमुख प्रकाश चन्द्र कार्की, वडा नं. २ का जनप्रतिनिधि, टोल विकास संस्थाका प्रतिनिधिहरु र साझेदार संस्थाका प्रतिनिधिहरुले समेत सफा र स्वच्छ क्षेत्र विकास गर्ने कार्यलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।


486 पटक हेरिएको 

