बाग्लुङ १८ फागुन । जब जब कालो बादल मडारिएर आउँछ, वाग्लुङको काँडेबास र सुखौराका बासिन्दाको मन उसै उसै खुुसी भएर आउँछ । आकाश धुम्मिन साथ पानी पर्ने हो कि भनेर खुसी भएका गाउँले जब बादल फाटेर घाम लाग्छ अनि निराश हुन्छन् ।
पानी नपर्दा आकाशे पानी संकलनका लागि बनाइएका घैंटा रित्तै भए पछि काँडेबास र सुखौराका बासिन्दाको दिन पानी पर्ने आशमा वित्न थालेको हो । साउन भदौमा जम्मा गरिएको पानी सकिसकेको र बीचमा पानी नपर्दा घैटो भर्न नपाएको सुखौराकी लालमती विकले बताउनुभयो ।
सुखौरा ९ की राममाया विकका अनुसार असोज यता जमिन भिज्ने गरी पानी नै परेको छैन । पुस महिनामा हिमाली भेगमा हिउँ परेपनि वाग्लुङको काँडेबास र सुखौरामा सीमसीम पानी मात्र परेको उहाँले बताउनुभयो ।
‘पानी संकलन गर्ने गरी त पानी नै परेन, पानी परेमा संकलन गर्न भनेर तयारी अवस्थामा राखियो, अलि अलि पानी पर्दा पनि घरको छानो, पाइप, घैटौं सबै सफा ग¥यौं, तर पानी नै परेन’ सुखौरा ९ की राममाया विकले भन्नुभयो ‘पानी नपरेपछि सबैका घैटा रित्तिएका छन् । पानी परे त घैंटा भरिन्थे, पानीका लागि सुख भएको थियो, फेरि दुःखका दिन शुरु भए ।’
लामो खडेरी हुँदा काँडेवास र सुखौराका झण्डै २ सय घरपरिवार पानीको संकट झेलिरहेका छन् ।