पदचापको जादु: जहाँ पाइला पर्छ, त्यहीँ बानी बदलिन्छ

  वास खबर सम्बाददाता  441 पटक हेरिएको
🔗
33
Shares

बर्दिया : “शौचालय गएपछि हात धुनुपर्छ”  यो कुरा हामीले थुप्रैपटक दोहोर्‍याएका छौं, शिक्षकले सम्झाएका छन्, अभिभावकले सिकाएका छन्। तर के नानीबाबुहरूले साँच्चिकै यो व्यवहार अपनाइरहेका छन् त?

बर्दियाको बारबर्दिया नगरपालिका–७ मा रहेको जनता माध्यमिक विद्यालयले यसको उत्तरमा ‘हो’ भन्न मिल्ने एउटा सुन्दर उदाहरण प्रस्तुत गरेको छ। न कुनै गाली, न त जबर्जस्ती सम्झाइ। केवल एउटा सरल तर सशक्त माध्यम ‘पदचाप’।

विद्यालयको शौचालय प्रयोग गरेपछि नानीबाबुले सिधै कक्षाकोठा प्रवेश गर्नु अघिनै साबुनपानीले हात धुन आवश्यक छ भन्ने व्यवहार उनीहरूमा विकास गराउन, शौचालयको ढोकादेखि हात धुने स्थानसम्म विशेष ‘पदचाप’ बनाइएको छ।

त्यो पदचाप पछ्याउँदै जाँदा हात धुने ठाउँ आउँछ, अनि बल्ल कक्षाकोठातिर जाने बाटो खुल्छ।

यस अभियानको परिकल्पना वाटर एड नेपालद्वारा सञ्चालित ‘वास गेन्स परियोजना’ले गरेको हो। परियोजना प्रबन्धक उमाशंकर यादवका अनुसार नानीबाबुलाई बारम्बार सम्झाइरहनु भन्दा उनीहरूको व्यवहारसँग मिल्ने चित्र र संकेतमार्फत स्वच्छताको अभ्यास सिकाउन यो उपाय निकै प्रभावकारी बनेको छ।

उहाँले भन्नुभयो, “शौचालयको भित्तामा बाल्टिनले पानी खन्याइरहेको चित्र बनाइएको छ। यस्तो दृश्यात्मक उपायले बालबालिकाको आनीबानीमै परिवर्तन ल्याउन सक्छ भन्ने हाम्रो विश्वास हो।”

बर्दिया जिल्लाको पाँचवटा स्थानीय तहका ३३ वटा विद्यालयमा सञ्चालन भइरहेको वास गेन्स परियोजनाअन्तर्गत यस्तो व्यवहार परिवर्तन कार्यक्रम लागू गरिएको हो। यस अभियानमा BASE बर्दिया, राष्ट्रिय अपाङ्ग महासंघ, नेपाल प्रजनन स्याहार केन्द्र तथा स्थानीय सरकारसँग सहकार्य गरिएको छ।

शिक्षालाई सहज बनाउने पूर्वाधार

परियोजनाका प्राविधिक अधिकृत रविन्द्र गोदारका अनुसार ती सबै विद्यालयमा छात्रछात्रामैत्री, पहुँचयुक्त शौचालय, हात धुने स्थान तथा सुरक्षित पिउने पानीको व्यवस्था गरिएको छ। किशोरी छात्राहरूका लागि प्याड फेर्ने सुरक्षित स्थान र इन्सिनेरेटर जडान गरिएको छ, जसले उनीहरूको आत्मविश्वास र विद्यालयमा निरन्तरता बढाएको छ।

यसबाहेक, परियोजनाका संयोजक जगदीश्वर चौधरीका अनुसार विद्यालयहरूलाई स्वमूल्यांकनका लागि ‘तारे पद्धति’ लागू गरिएको छ। खानेपानी, सरसफाइ तथा स्वच्छता कार्यविधि २०७४ लाई स्थानीय आवश्यकता अनुसार परिमार्जन गरी कार्यान्वयन गरिएको छ। “मापदण्ड पूरा भएका विद्यालयहरूलाई तीन तारे घोषणा गरिएको छ,” उहाँले बताउनुभयो।

उपस्थितिमा वृद्धि, गुणस्तरमा सुधार

स्वच्छता पूर्वाधारको विस्तारले बालबालिकाको विद्यालय उपस्थितिमा उल्लेखनीय सुधार आएको छ। संयोजक चौधरी भन्छन् “विद्यालयमा खानेपानी, सरसफाइ र स्वच्छता सुविधा भएपछि बालबालिकाको उपस्थिति दर बढेको छ, जसले शैक्षिक गुणस्तरमा समेत प्रत्यक्ष प्रभाव पारेको छ।”

बर्दियाको ठकुरबाबा, बारबर्दिया, मधुवन र गेरुवा गाउँपालिकाका विद्यालयमा सञ्चालन भइरहेको वास गेन्स परियोजना सन् २०२६ को मार्चसम्म सञ्चालन हुनेछ।

पदचाप जस्तो सरल प्रयोगले बालबालिकाको स्वच्छता संस्कारमा गहिरो परिवर्तन ल्याइरहेको उदाहरण बर्दियाले देखाएको छ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार