
जनकपुरधाम : मधेश प्रदेशका विभिन्न स्थानीय तहहरूले आगामी आर्थिक वर्ष २०८२/८३ मा खानेपानी, सरसफाइ तथा स्वच्छता (WASH) क्षेत्रमा उल्लेखनीय बजेट विनियोजन गर्ने प्रतिबद्धता जनाएका छन्। पालिका स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता क्षेत्रगत योजना प्राथमिकीकरण र वित्तिय रणनीति तर्जुमा बैठकमा सम्बन्धित पालिकाहरुले प्रतिबद्धता जनाउँदै खानेपानी, सरसफाइ तथा स्वच्छता कार्यक्रमको कार्ययोजना समेत पारित गरेका छन् ।
मधेस प्रदेशको उर्जा, सिँचाई तथा खानेपानी मन्त्रालय र युनिसेफ नेपालको प्राविधिक सहयोगमा सम्बन्धित पालिकाहरुले आयोजना गरेको कार्यक्रममा एउटा स्थानीय तहले कम्तीमा ५० लाखदेखि १ करोड ७० लाख रुपैयाँसम्म बजेट विनियोजन गर्ने प्रतिबद्धता जनाएका छन् । बाराका बरगढी गाउँपालिकाले रू. १ करोड ७० लाख, सर्लाहीको बरहथवा नगरपालिकाले रू. १ करोड २८ लाख, र गोडैता नगरपालिकाले रू. १ करोड २ लाख बजेट WASH कार्यक्रमका लागि छुट्याउने निर्णय गरेका छन्।

विनियोजित बजेट स्थानीय तहहरूले सुरक्षित सरसफाइ, सुरक्षित खानेपानी आपूर्ति, खुला दिसामुक्त अवस्थाको दिगोपना र जनस्वास्थ्य प्रवर्द्धनमा लगानी गर्ने बताएका छन्।
यस्तै वास प्लान बनिसकेका स्थानीय तहले वास प्लानको प्राथमिकता क्रममा रहेका खानेपानी, सरसफाइ तथा स्वच्छता योजनालाई कार्यान्वयन गर्ने भएका छन् भने वास प्लान बनाएर अनुमोदन गर्न बाँकी रहेका गाउँपालिकाहरुले गाउँ नगर सभाबाट वास प्लान अनुमोदन गरी वासका क्रियाकलापहरुलाई प्राथमिकता दिने भएका छन् ।
अन्य पालिकाहरूले पनि खानेपानी, सरसफाइ र स्वच्छता योजनाका प्राथमिकता अनुसार आगामी दिनमा बजेट विनियोजनको प्रतिबद्धता जनाएका छन्। यस कदमलाई सुरक्षित खानेपानीको मात्र सेवन, सफा सुग्घर स्थानीय सेवा प्रवाह, सार्वजनिक स्वास्थ्य सुधार र सामुदायिक सहभागिता सुदृढ गर्ने दिशामा उल्लेखनीय पहलका रूपमा हेरिएको छ।


529 पटक हेरिएको 

