कोल्हबी नगरपालिकाले खानेपानी तथा सरसफाइका लागि एक करोड १६ लाख बजेट विनियोजन गर्ने

  वास खबर सम्बाददाता  384 पटक हेरिएको

कोल्हबी : बाराको कोल्हबी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि खानेपानी, सरसफाइ तथा स्वच्छता क्षेत्रलाई प्राथमिकता दिंदै एक करोड १६ लाख रुपैयाँ बजेट विनियोजन गर्ने भएको छ।

युनिसेफको सहकार्यमा कोल्हबी नगरपालिकाले आयोजना गरेको ‘खानेपानी, सरसफाइ तथा स्वच्छता क्षेत्रगत योजना समीक्षा एवं वित्तिय रणनीति तर्जुमा कार्याशाला’मा नगरपालिकाले स्थानीय तहको खानेपानी, सरसफाइ तथा स्वच्छता योजना (WASH Plan) र राष्ट्रिय खानेपानी, सरसफाइ तथा स्वच्छता सूचना व्यवस्थापन प्रणाली (N-WASH MIS) मा आधारित रही विभिन्न कार्यक्रमहरु छनोट गरी कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको हो।

नगर प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, कार्यपालिका सदस्यहरू तथा शाखा प्रमुखहरूको संयुक्त प्रतिबद्धता अनुसार छनोट गरिएका प्रमुख कार्यक्रमहरू

√ संघ-संस्थाको सहकार्यमा सञ्चालन हुने कार्यक्रममा पालिकाको तर्फबाट सहलगानी योगदान

√ पालिका स्तरीय खानेपानी तथा सरसफाइ युनिट र पानी परीक्षण प्रयोगशाला स्थापना

√ विद्यालय र स्वास्थ्य संस्थामा पहुँचयुक्त शौचालय तथा खानेपानी संरचना निर्माण तथा मर्मत

√ सरसफाइ तथा स्वच्छता प्रवर्द्धन अभियान सञ्चालन

√ N-WASH MIS अपडेट

√ ह्यान्डपाइप, फिल्टर, साना टंकी तथा पाइप प्रणाली मार्फत खानेपानी सुविधा विस्तार

√ विपद्‌का बेला खानेपानी तथा सरसफाइ सुनिश्चितता

√ सार्वजनिक शौचालय निर्माण तथा फोहोर व्यवस्थापन

√ सुरक्षित खानेपानी युक्त समुदाय घोषणा

नगरपालिकाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विकास साझेदारसँग समन्वय गरी प्राथमिकताका क्षेत्रहरूमा कार्यक्रम सञ्चालन गर्ने जनाएको छ। साथै, दिगो विकास लक्ष्य SDG 6 अनुसार ‘सवैका लागि सुरक्षित खानेपानी, व्यवस्थित सरसफाइ र स्वच्छता’ सुनिश्चित गर्न तीनै तहका सरकारसँग सहकार्य गर्दै नीतिगत, कानूनी तथा संस्थागत संरचना सुदृढ गरिने बताइएको छ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार