
वीरगन्ज : पर्साको विन्दवासिनी गाउँपालिका-३ इटियाहीमा अवस्थित नेपाल स्काउट आधारभूत विद्यालयमा रजिया स्मृति प्रतिष्ठानले खानेपानी प्रणाली जडान गरिदिएको छ।
घरेलु हिंसाबाट प्रताडित भई ज्यान गुमाएकी रजिया खातुनको स्मृतिमा परिवारजनले परोपकारी कामका लागि स्थापना गरेको रजिया स्मृति प्रतिष्ठानले विद्यालयमा विद्यार्थी र शिक्षकहरूका लागि खानेपानी प्रणाली जडान गरिदिएको हो।
स्वर्गीय रजियाका दाजु तथा प्रतिष्ठानका अध्यक्ष तबरेज अहमदले आफ्नो निजी खर्चमा विद्यालयमा पानी तान्ने विद्युतीय मोटर,१ हजार लिटरको खानेपानी ट्यांकी र पिउन पानीका लागि ५ वटा धाराहरू जडान गरिदिएका हुन्। त्यसका साथै विद्यालयको शौचालयमा पनि पाइप लाइन विस्तार गरेर ७ वटा धाराहरू जडान गरिदिएको अध्यक्ष अहमदले बताउनुभयो।
विद्यालयमा जडान गरिएको खानेपानी प्रणाली शुक्रबार अध्यक्ष अहमदले उद्घाटन गरेर विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मुकेश चौरसियालाई औपचारिक रूपमा हस्तान्तरण गरेको विद्यालयका प्रधानाध्यापक प्रमोद चौरसियाले बताउनुभयो।
प्रतिष्ठानले विद्यालयमा जडान गरिदिएको खानेपानी प्रणालीबाट विद्यालयमा अध्ययनरत ५ सय विद्यार्थीहरूका साथै शिक्षक–शिक्षिकाहरू पनि लाभान्वित हुने उहाँले बताउनुभयो।
घरेलु हिसांबाट प्रताडित भई ज्यान गुमाएकी बहिनी स्वर्गीय रजियाको नामबाट स्थापना गरिएको रजिया स्मृति प्रतिष्ठानले परिवारजनकै आम्दानीबाट बचत गरिएको रकमबाट विभिन्न सामाजिक कार्यहरू गर्दै आएको प्रतिष्ठानका अध्यक्ष अहमदले बताउनुभयो। त्यसै क्रममा इटियाहीको सामुदायिक विद्यालयका विद्यार्थी र शिक्षकहरूका लागि स्वच्छ पिउने पानीका लागि आधुनिक खानेपानी प्रणाली जडान गरिदिएको उहाँले बताउनुभयो।
यसअघि गतवर्ष पनि प्रतिष्ठानका अध्यक्ष अहमदले वीरगन्जका युवा पत्रकार स्व। नरेश सर्राफको स्मृतिमा स्थापित युवा पत्रकारिता पुरस्कारका लागि नगद ५० हजार रुपैयाँ सहयोग गर्नुभएको थियो।


287 पटक हेरिएको 

