घोराहीमा मानव मलमूत्र व्यवस्थापनको क्षेत्रमा हुँदैछन् यी काम

  वास खबर सम्बाददाता  355 पटक हेरिएको


दाङ : दाङको घोराही उपमहानगरपालिकाले मानव मलमूत्रको असुरक्षित विसर्जनबाट हुन सक्ने सम्भावित स्वास्थ्य जोखिमलाई कम गर्न मानव मलमूत्र व्यवस्थापनको काम गर्दै आएको छ । नगरपालिकाले आफ्नै स्रोत साधनको व्यवस्था गरी नगरक्षेत्रको मानव मलमूत्रलाई विगत देखि नै व्यवस्थापन गर्दै आएको खानेपानी तथा सरसफाइ व्यवस्थापन शाखाका प्रमख लक्ष्मण अधिकारीले जानकारी गराउनुभयो ।

‘नगरव्यापी समावेशी सरसफाइ सेवा प्रणालीहरुको विस्तार कार्यक्रम’ लाई कसरी प्रभावकारी रुपमा सञ्चालन गर्न सकिन्छ भन्ने उद्देश्यले यु.एन. ह्याबिट्याट र घोराही उपमहानगरपालिका बीच भएको छलफलमा शाखा प्रमुख अधिकारीले मानव मलमूत्रको चुहावट भएर खानेपानीको स्रोतमा मिसिन गएमा भयावह स्थिति सिर्जना हुन सक्ने भएकाले नगरपालिकाले समयमै व्यवस्थापन गर्न थालिएको बताउनुभयो।


‘हामी सँग व्यस्थित तरिकाको मानव मलमूत्र प्रशोधन केन्द्र त छैन, तैपनि हामी सँग उपलब्ध जग्गा, जनशक्ति, सीप र प्रविधिको उपयोग गरेर सकेसम्म व्यस्थापन गर्ने कोशिस गरेका छौं’ उहाँले भन्नुभयो।

निजी क्षेत्रका ट्याङ्करहरुले जथाभावी विसर्जन गर्दा खानेपानीको स्रोत प्रदुषित हुने भएकाले व्यवस्थित प्रशोधन केन्द्र निर्माण नभएसम्मका लागि निजी क्षेत्रलाई अनुमति नदिएको उहाँले बताउनुभयो । हाल नगरपालिकासँग भएको ६ हजार लिटर क्षमताको एउटा ट्याङ्करले नै सेवा उपलब्ध गराउँदै आएको उहाँले बताउनुभयो।

कर्मचारीलाई १० प्रतिशत अतिरिक्त सुविधा

मानव मलमूत्र व्यवस्थापनको काम जोखिमपूर्ण भएकाले त्यसमा संलग्न कर्मचारीलाई १० प्रतिशत अतिरिक्त सुविधा उपलब्ध गराउँदै आएको छ । नगरपालिकाको राजश्व शाखामा यस सम्बन्धी अभिलेख हुने र त्यसैको आधारमा १० प्रतिशत रकम त्यसमा खटिने कर्मचारीलाई उपलब्ध गराउँदै आएको उहाँले बताउनुभयो ।

प्रशोधन केन्द्रको डिपीआर तयार


उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ऋषिराम के.सी.का अनुसार मानव मलमूत्र प्रशोधन केन्द्र निर्माणका लागि वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) को प्राविधिक सहयोगमा डिपीआर तयार गरी खानेपानी तथा ढल व्यवस्थापन विभागमा पेश गरिसकेको छ ।

उपमहानगरपालिका विगत बर्षहरुमा प्रशोधन केन्द्र निर्माणका लागि ३५/३६ लाख रुपैयाँ विनियोजन गरेको र यसले नपुग्ने एकीन भएपछि संघीय सरकारमै डिपीआर पेश गरिएको उहाँले बताउनुभयो।

उहाँका अनुसार प्रशोधन केन्द्र निर्माण गर्न करिब ४ करोड रुपैयाँ लाग्नेछ । स्रोत सुनिश्चित भएमा एकीकृत फोहोरमैला व्यवस्थापन केन्द्र भित्रै प्रशोधन केन्द्र निर्माण गरिने उहाँले बताउनुभयो । ‘हामीलाई जग्गाको समस्या छैन, उपमहानगरपालिकालाई भोग अधिकार प्राप्त जग्गा भित्रै बनाउने ठाउँ छ’ उहाँले भन्नुभयो ।

उपमहानगरपालिकाले फोहोर व्यवस्थापन गर्दै आएको क्षेत्रमा आजै उप प्रमुख हुमा कुमारी डिसी र यु.एन. ह्याबिट्याटका राष्ट्रिय प्रोफेस्नल अफिसर (NPO) सुधा श्रेष्ठ नेतृत्वको टोलीले अवलोकन गरेको छ ।

परियोजना अन्तर्गत हुनेछन् यी चार काम

यु.एन.ह्याबिट्याटका राष्ट्रिय प्रोफेस्नल अफिसर (NPO) सुधा श्रेष्ठले नगरव्यापी समावेशी सरसफाइ सेवा प्रणालीहरुको विस्तार कार्यक्रम अन्तर्गत विशेष गरी चार वटा कम्पोनेन्टमा प्राविधिक सहयोग हुने जानकारी गराउनुभयो । वाटर एड नेपाल, नेपाल नगरपालिका संघ, खानेपानी मन्त्रालय र खानेपानी तथा ढल व्यवस्थापन विभागको समन्वयमा नगरस्तरीय मानव मलमूत्र व्यवस्थापन सम्बन्धी कानुनी औजारहरु निर्माण गर्ने, मानव मलमूत्र व्यवस्थापन सम्बन्धी तथ्याङ्क संकलन तथा सुदृढीकरण गरी एन वासमा अद्यावधिक गर्ने, नगरव्यापी समावेशी सरसफाइ सम्बन्धी क्षमता विकास गर्न विभिन्न तालिमहरु सञ्चालन गर्ने र संस्थागत प्रारुप तयार गर्ने लगायत प्राविधिक सहयोगहरु हुने जानकारी गराउनुभयो।

गेट्स फाउण्डेसनको वित्तिय व्यवस्थापनमा सञ्चालित यो कार्यक्रमको यु.एन.ह्याबिट्याट कार्यकारी निकाय हो ।

गएको असार १४ गते शुक्रबार ‘नगरव्यापी समावेशी सरसफाइ सेवा प्रणालीहरुको विस्तार कार्यक्रम’ सञ्चालन गर्न यु.एन.ह्याबिट्याट, नेपाल नगरपालिका संघ, वाटर एड नेपाल र सम्बन्धित नगरपालिकाहरु बीच बहुपक्षीय समझदारी भएको थियो ।

यो परियोजना सफल पार्ने जिम्मेवारी हाम्रो हो : उप प्रमुख डि.सी.


छलफल कार्यक्रममा घोराही उपमहानगरपालिकाका उप प्रमुख हिमा कुमारी डि.सी.ले मानव मलमूत्र व्यवस्थापनको काम विगत देखि नै हुँदै आए पनि यसलाई व्यवस्थित बनाउन अझै धेरै गर्न बाँकी रहेको बताउनुभयो । उहाँले असुरक्षित सेप्टिक ट्याङ्कबाट मानव मूत्रको चुहावट भएर खानेपानीको स्रोतमा मिसिन गएमा महामारी निम्त्याउन सक्ने भएकाले पनि नगरपालिकाको सधैं प्राथमिकता प्राप्त क्षेत्र भएको बताउनुभयो ।

उपमहानगरपालिकामा व्यवस्थित मानवमलमूत्र प्रशोधन केन्द्र निर्माण गर्नुपर्ने र यसका लागि नीति नियम, ऐन कानुन पनि निर्माण गर्नुपर्ने भएकाले आफूहरुका लागि यो परियोजना ढुंगा खोज्दा देवता मिले जस्तै भएको बताउनुभयो ।

‘यो हाम्रो काम हो, यो हाम्रो नागरिकको स्वास्थ्यसँग जोडिएको बिषय भएकाले यो कार्यक्रम सफल हुँदा हामी सफल हुने हो । त्यसैले यो कार्यक्रमलाई सफल पारेरै देखाउँछौं’ उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले लुम्बिनी प्रदेश भरिमा घोराही उपमहानगरपालिकालाई नै चयन गरिदिएकोमा सम्बन्धित सबैलाई धन्यबाद व्यक्त गर्दै भविश्यमा मानव मलमूत्र व्यवस्थापनमा सहकार्य हुने विश्वास समेत व्यक्त गर्नुभयो।


छलफल कार्यक्रममा यु.एन.ह्याबिट्याटको तर्फबाट राष्ट्रिय प्रोफेस्नल अफिसर सुधा श्रेष्ठ, सिविसान कोअर्डिनेसन अफिसर सतिश जंग शाही तथा घोराही नगरपालिकाको तर्फबाट नगर उपप्रमुख हुमा कुमारी डि.सी., प्रमुख प्रशासकीय अधिकृत ऋषिराम के.सी., प्रशासन महाशाखा प्रमुख वासुदेव आचार्य, सरसफाइ, वातावरण तथा विपद व्यवस्थापन समितिका संयोजक भान सिं बुढा, खानेपानी तथा सरसफाइ व्यवस्थापन शाखाका प्रमुख लक्ष्मण अधिकारी, क्लिन अप नेपालका प्रोजेक्ट कोअर्डिनेटर कैलाश विक्रम शाही, घोराही उपमहानगरपालिकाका प्रेस संयोजक निभु संगम घर्ती, लगायतको सहभागिता थियो।

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार