
धनगढी : कैलालीको गोदावरी नगरपालिकामा बनेको एकीकृत फोहोरमैला व्यवस्थापन केन्द्र सञ्चालनमा आएको छ । दैनिक १३ हजार लिटर मानव मलमूत्र प्रशोधन क्षमता सहितको विशाल एकीकृत फोहोर व्यवस्थापन केन्द्र सञ्चालनमा ल्याएको हो ।
गोदावरी नगरपालिकाका नगर प्रमुख विरेन्द्र भट्टले पूजा गरी केन्द्र सञ्चालनको सुरुवात गर्नुभयो ।

नगर प्रमुख भट्टले नगरवासीका लागि फोहोर व्यवस्थापन केन्द्र हर्षको विषय भएको बताउनुभयो। उहाँले स्वच्छ र सुन्दर सहर निर्माणमा यसले महत्वपूर्ण योगदान दिने विश्वास व्यक्त गर्नुभयो । ‘नगरपालिकाको यो ठूलो र महत्वपूर्ण परियोजना सफलतापूर्वक सञ्चालनमा आएको छ । जसबाट नगरका सबै वडाहरूमा फोहोर व्यवस्थापनको कार्य प्रभावकारी रूपमा अघि बढ्नेछ’, उहाँले भन्नुभयो।
फोहोर व्यवस्थापन केन्द्रको सञ्चालन दुई वर्षसम्म निर्माण व्यवसायी आफैले सञ्चालन गर्नेछ । त्यसपश्चात केन्द्रको जिम्मेवारी नगरपालिकाले लिनेछ। नगरलाई जिम्मेवारी हस्तान्तरणपछि प्रभावकारी सञ्चालनका लागि दक्ष जनशक्ति तयार पार्न हाल ८ जना कर्मचारीहरूलाई उक्त केन्द्रमा खटाएको नगर प्रमुख भट्टले बताउनुभयो। ती कर्मचारीहरूले काम गर्दै अनुभव हासिल गर्ने र पछि नगरपालिकाको मातहतमा आएपछि तिनै कर्मचारीहरुले सञ्चालनमा सहजीकरण गर्ने उहाँले बताउनुभयो।

एकीकृत फोहोरमैला व्यवस्थापन केन्द्रको केही समय अघि मात्र संयुक्त राष्ट्रसंघीय मानव बसोबास कार्यक्रम (यु.एन.ह्याबिट्याट) का राष्ट्रिय प्रोफेस्नल अफिसर (WASH) सुधा श्रेष्ठ र सिविसानका संयोजक सतिषजंग शाही लगायतको टोलीले अनुगमन गरिएको थियो ।

कैलालीको गोदावरी नगरपालिका सहित देशभरिका सात वटा नगरपालिकामा यु.एन.ह्याबिट्याटको वित्तिय व्यवस्थापनमा नगरव्यापी समावेशी सरसफाइ सेवा प्रणालीहरुको विस्तार कार्यक्रम सञ्चालन भैरहेको छ ।
साढे ५१ करोड लगानी
एसियाली विकास बैंकको ऋण लगानीमा शहरी विकास तथा भवन निर्माण विभागले क्षेत्रीय सहरी विकास आयोजना अन्तर्गत भ्याट सहित ५१ करोड ६९ लाख ७४ हजार ४९९ रुपैयाँ लागतमा चौकीडाँडा सामुदायिक वन क्षेत्रमा एकीकृत फोहोरमैला व्यवस्थापन केन्द्र निर्माण गरेको हो ।
चीनको सिचुवान प्रोभेन्स जियोलोजिक इन्जिनियरिङ कम्पनीले निर्माण गरेको व्यवस्थापन केन्द्रको गत जेठ २२ गते नेपाल सरकारका उप–प्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाश मान सिंहले उदघाटन गर्नुभएको थियो।
विस्तृतमा हेर्नुहोस् यो भिडियोः
केन्द्रमा फोहोरमैला व्यवस्थापन गर्ने सेल, कम्पाउन्ड, मानव मलमूत्र प्रशोधन प्लान्ट, फोहोर प्रशोधन ब्लक लगायतका संरचना छन् ।
गोदावरी नगरपालिका क्षेत्रबाट अहिले दैनिक करिब दुई टन फोहोरमैला संकलन हुन्छ । यहाँको मुख्य बजार अत्तरिया हो । संकलित फोहोरलाई यस अघि मालाखेती सामुदायिक वनभित्र गोदावरी नदीले कटान गरेको क्षेत्रमा व्यवस्थापन गर्ने गरिएको थियो ।
दैनिक १३ मेट्रिक टन ठोस फोहोर र १३ घनमिटर मानव मलमूत्र प्रशोधन गर्न सकिने
एकीकृत फोहोरमैला व्यवस्थापन केन्द्रमा दैनिक १३ मेट्रिक टन ठोस फोहोर र १३ घनमिटर मानव मलमूत्र प्रशोधन गर्न सकिने नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले १२ वटा वडामध्ये आठ वटा वडाबाट दैनिक र साप्ताहिक रूपमा फोहोर संकलन गर्ने गरिएको छ । एकीकृत फोहोर व्यवस्थापन केन्द्र सुरुवात गर्न आयोजित पूजापाठ कार्यक्रममा नगरपालिकाका नगर प्रमुख भट्टले फोहोर व्यवस्थापन केन्द्रमा कुहिने र नकुहिने फोहोरमैलाको वर्गीकरण गर्ने, कुहिने फोहोरबाट मलखाद बनाउने र नकुहिने, तर पुनः प्रयोग गर्न सकिने बस्तु प्रशोधन गरिने भएकाले फोहोरमैला व्यवस्थापन केन्द्र आम्दानीको स्रोत समेत बन्ने बताउनुभयो।



424 पटक हेरिएको 

