हैजाका बिरामीको अवस्था बुझ्न वीरगञ्जका विभिन्न अस्पतालमा खानेपानीमन्त्री यादवको स्थलगत अनुगमन

  वास खबर सम्बाददाता  383 पटक हेरिएको

वीरगञ्ज : खानेपानी मन्त्री प्रदीप यादवले वीरगञ्जका विभिन्न अस्पतालमा पुगेर हैजाका बिरामीहरूको अवस्थाबारे जानकारी लिनुभएको छ। वीरगञ्ज महानगरपालिकाको हैजा प्रभावित क्षेत्रहरूको स्थलगत अनुगमन तथा निरीक्षणपछि उहाँले नारायणी अस्पताल, तराई अस्पताल, वीरगञ्ज हेल्थ केयर लगायतका स्वास्थ्य संस्थामा उपचाररत बिरामीहरूको स्वास्थ्य स्थिति, खानेपानीको अवस्था, सरसफाइ र ढल व्यवस्थापनको वास्तविक स्थिति प्रत्यक्ष अवलोकन गर्नुभएको हो।

मन्त्री यादवले भन्नुभयो, “हैजा नियन्त्रणका लागि सरकारले अत्यधिक संवेदनशीलता देखाइरहेको छ। प्रभावित क्षेत्रमा आवश्यक सामग्री सहित मोबाइल टोली परिचालन गरी पानीको परीक्षण र शुद्धीकरण कार्य तीव्र गतिमा भइरहेको छ।”

उहाँका अनुसार खानेपानी तथा ढल व्यवस्थापन विभाग मार्फत ‘पियुष’ लगायतका सामग्री वितरण गरी प्रभावित क्षेत्रमा पानी शुद्धीकरणको कार्य जारी छ। साथै, स्थानीय तहहरूसँग समन्वय गर्दै तत्कालीन तथा दीर्घकालीन उपाय कार्यान्वयनका लागि सम्बन्धित निकायलाई निर्देशन दिइएको छ।

यादवले जनतालाई उमालेर मात्र पानी पिउन, साबुनपानीले नियमित हातधुने र पकाएको खाना मात्र खाने आग्रह गर्दै भन्नुभयो “सबैको सहयोग, सतर्कता र सचेतनाबाट हैजा चाँडै नियन्त्रणमा आउने विश्वास लिएको छु।”

बीरगन्जमा झाडापखाला लागेर उपचारका लागि अस्पतालमा ल्याइएका २ जना बिरामीको मृत्यु भईकेको छ । उनीहरुको उपचारका क्रममा वीरगन्ज हेल्थ केयर अस्पतालमा मृत्यु भएको हो । शुक्रबार साँझ उपचारका लागि भर्ना भएका पर्साको पोखरिया नगरपालिका–९ की १९ वर्षीया युवती र नारायणी अस्पतालमा वीरगन्ज महानगरपालिका–१६ का ३५ वर्षीय पुरुषको मृत्यु भएको जनाईएको छ ।

वीरगन्जमा शुक्रबार ३ जनामा हैजाको संक्रमण पुष्टि भएको थियो । आज शनिबार थप ५ जनामा हैजा पुष्टि भएको नारायणी अस्पतालका सूचना अधिकारी डा। उदयनारायण सिंहले जानकारी दिनुभयो। उहाँका अनुसार नारायणी अस्पतालमा उपचाररत झाडापखालाका १५ जनामध्ये शंकास्पद शनिबार ८ जनाको परीक्षण गर्दा मध्ये ५ जनामा हैजा पुष्टि भएको र ती सबै वीरगन्ज महानगरपालिका वडा नम्बर १२ मुर्लीका हुन्।

यस्तै अर्को एक अस्पतालमा उपचाररत थप २ जनामा पनि शनिबार हैजा पुष्टि भएको वीरगन्ज महानगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख राजु साहले जानकारी दिनुभयो। वडा नम्बर ११ र १३ का दुई जनामा हैजा पुष्टि भएको उहाँले बताउनुभयो । यसअघि शुक्रबार वीरगन्जकै तराई हस्पिटलमा उपचाररत ३० को परीक्षण गर्दा तीमध्ये ३ जनामा हैजा पुष्टि भएको थियो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार