सुर्खेत : कर्णाली प्रदेशका स्वास्थ्य संस्थामा खानेपानी, सरसफाइ तथा स्वच्छता सुधार र स्वास्थ्यजन्य फोहरमैला व्यवस्थापन सुदृढीकरणका लागि बिरेन्द्रनगरमा ३ दिने प्रदेशस्तरीय तालिम सम्पन्न भएको छ।
भदौ ६ गतेदेखि शुरु भई भदौ ८ गतेसम्म चलेको उक्त तालिममा सुर्खेत, जाजरकोट, दैलेख र मुगुका तीन अस्पताल र छ वटा स्वास्थ्य संस्थाका प्रतिनिधिहरूसहित ४५ जना सहभागी थिए। सहभागीमध्ये स्वास्थ्य संस्थाका कर्मचारी, पालिका स्वास्थ्य संयोजक, सरसफाइ सम्पर्क व्यक्ति, स्वास्थ्य सेवा प्रदायक तथा विकास साझेदारका प्रतिनिधि रहेका थिए।

तालिमलाई स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखा अन्तर्गत स्वास्थ्य तथा फोहरमैला व्यवस्थापन शाखाका प्रमुख आशुतोष श्रेष्ठसहित युनिसेफ नेपालका सरसफाइ विज्ञ सिद्धि श्रेष्ठ, कटकबहादुर रोकाया, बमबहादुर खड्का र दिपेन्द्र उप्रेतीले सहजीकरण गरेका थिए।
तालिममा जोखिममा आधारित व्यवस्थापकीय औजार ‘वासफिट’ को प्रयोगमार्फत स्वास्थ्य संस्थामा खानेपानी, सरसफाइ तथा स्वच्छता सुधार गर्ने विषयमा विस्तृत प्रशिक्षण दिइएको थियो।
समापन समारोहमा सामाजिक विकास मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा निर्देशनालय कर्णालीका निमित्त निर्देशक तेजकुमार दर्लामीले स्वास्थ्य संस्थाको सरसफाइ तथा स्वच्छता सुधारका लागि बजेट बिनियोजनमा पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
उक्त तालिम युनिसेफ नेपालको सहयोग, रुकुमेली विकास केन्द्र (आरएसडिसी) को व्यवस्थापन तथा प्रदेश स्वास्थ्य सेवा निर्देशनालय कर्णालीको समन्वयमा सम्पन्न भएको हो।



586 पटक हेरिएको 


