
कैलाली : कैलालीको टीकापुरमा निर्माण भएको मानव मलमूत्र प्रशोधन केन्द्रमा प्राविधिक त्रुटि देखिएको छ । दुई बर्षसम्म निर्माण कम्पनीले सञ्चालन गरेर नगरपालिकालाई हस्तान्तरण गरेपछि उक्त त्रुटि पहिचान भएको हो ।
प्रशोधन केन्द्रको स्क्रिनिङ च्याम्बर ट्याङ्करको आउटलेट भन्दा अग्लो छ । जसका कारण सेप्टिक ट्याङ्कबाट ल्याएको मानव मलमूत्र स्क्रिनिङ च्याम्बरमा नखन्याई सीधै विसर्जन गरिन्छ ।

स्क्रिनिङ च्याम्बरको काम मानव मलमूत्रमा भएको कपडाका टुक्रा, प्याड, डाइपर, चुरोट र गुट्खाका खोल लगायतलाई छान्नु हो । स्क्रिनिङ च्याम्बरमा यी वस्तुहरु छान्न नपाएपछि पाइपमा अड्किएर चाँडै बिग्रने जोखिम बढेको छ । यसका लागि कि स्क्रिनिङ च्याम्बरको उचाई घटाउनु पर्ने हुन्छ, कि त गाडी गुड्ने सतहलाई अग्लो बनाएर स्क्रिनिङ च्याम्बरको इन्लेट भन्दा ट्याङ्करको आउटलेटलाई अग्लो बनाउनुपर्ने हुन्छ ।
विस्तृतमा हेर्नुहोस् यो भिडियो :
खानेपानी तथा ढल व्यवस्थापन विभाग, शहरी खानेपानी तथा सरसफाइ आयोजना अन्तर्गत निर्माण भएको प्रशोधन केन्द्र २०८१ साल फागुनमा टीकापुर नगरपालिकालाई हस्तान्तरण गरिएको थियो ।
आयोजना अन्तर्गत टिकापुरमा २९.५ किलोमिटर लम्बाइको ढल निकास तथा मानव मलमूत्र प्रशोधन केन्द्र निर्माण गरिएको हो । कुल ६० करोड ६९ लाख तीन हजार लगानीमा निर्माण भएको आयोजनामा ८५ प्रतिशत रकम एसियाली विकास बैंकको ऋण लगानी र १५ प्रतिशत लगानी टीकापुर नगरपालिकाको रहेको छ ।
आयोजनाको टुडी कन्स्ट्रक्सनले निर्माण गरेको हो ।

प्रशोधन केन्द्रमा मलमूत्र अपुग
मलमूत्र प्रशोधन केन्द्रले दैनिक नौ घनमिटर अर्थात् ९ हजार लिटर मलमूत्र व्यवस्थापन गर्न सक्छ । पछिल्लो जनगणना अनुसार टीकापुरमा १९ हजार घरधुरी छन् भने ९० हजार जनसंख्या छ । तर पर्याप्त मानव मलमूत्र भने संकलन हुन नसकेको टीकापुर नगरपालिकाका वास फोकल पर्सन कमल बहादुर रावलले बताउनुभयो । उहाँका अनुसार प्रशोधन केन्द्रको क्षमता अनुसार मानव मलमूत्र संकलन गर्नका लागि छिमेकी पालिकाका प्रमुखहरु सँग पनि परामर्श बैठक भैसकेको बताउनुभयो ।
प्रशोधन केन्द्रको नीतिगत औजार तयार
प्रशोधन केन्द्र सञ्चालनका लागि विनियमावली तयार गरी नगरसभाबाट प्रमाणीकरण भैसकेको वास फोकल पर्सन रावलले बताउनुभयो । आर्थिक बर्ष २०८२ ०८३ को नगर सभाबाट प्रमाणीकरण भैसकेको छ, अब स्थानीय राजपत्रमा प्रकाशन हुन मात्र बाँकी छ, त्यसपछि यो प्रशोधन केन्द्र सञ्चालन तथा नियमनका लागि अझ सहज हुनेछ उहाँले भन्नुभयो।

प्रशोधन केन्द्र सञ्चालनका लागि बजेट
टीकापुर नगरपालिकाले मानव मलमूत्र व्यवस्थापन केन्द्र सञ्चालनका लागि बजेट तथा जनशक्ति व्यवस्थापन गर्दै आएको छ । नगरपालिकाले चालु आर्थिक बर्षको लागि करिब ७ लाख रुपैयाँ विनियोजन गरिएको रावलले बताउनुभयो ।
उहाँका अनुसार प्रशोधन केन्द्रको लागि आवश्यक दुई जना कर्मचारी पनि करारमा नियुक्त गरेको छ भने नगरपालिका आफैले एउटा ट्याङ्कर सञ्चालन गरेको छ ।

प्रशोधन केन्द्रमा नगरपालिकाको ट्याङ्कर र निजी क्षेत्रबाट सञ्चालित ट्याङ्कहरुले मानव मलमूल संकलन गरेर ल्याउँछन् ।


501 पटक हेरिएको 

