
काठमाडौ : खानेपानी, सरसफाइ तथा स्वच्छता (WASH) र पोषणको अन्तरसम्बन्ध सम्बन्धी बहु–सरोकारवाला राष्ट्रिय संवाद यही बुधबार काठमाडौमा हुने भएको छ।
सुधारिएको पोषण र स्वास्थ्यमा योगदान पुर्याउन खानेपानी, सरसफाइ तथा स्वच्छता प्रणालीहरूलाई सुदृढ पार्न रणनीतिक कार्यहरू र नीतिगत उपायहरू पहिचान गर्ने, उद्देश्यले संवाद आयोजना गर्न लागेको हो । राष्ट्रिय विकास र जनस्वास्थ्यको प्रमुख क्षेत्रको रूपमा खानेपानी, सरसफाइ तथा स्वच्छता लाई प्राथमिकता दिने, उच्चस्तरीय राजनीतिक इच्छा शक्ति र नेतृत्वलाई परिचालन गर्ने तथा खानेपानी, सरसफाइ तथा स्वच्छता, पोषण र स्वास्थ्य क्षेत्रका नागरिक समाज, निजी क्षेत्र र अन्य सरोकारवालाहरू बीच साझेदारी र सहकार्यलाई सुदृढ पार्ने पनि संवादको उद्देश्य रहेको छ।
जलवायु परिवर्तन, स्रोतको सीमितता, क्षेत्रगत समन्वयको अभाब र सामाजिक आर्थिक असमानताहरू जस्ता चुनौतीहरूले दिगो विकास लक्ष्य (SDG) र विशेष गरी सबैका लागि खानेपानी र सरसफाइको उपलब्धता र दिगो व्यवस्थापन सुनिश्चित गर्ने (SDG 6) लगायतका राष्ट्रिय तथा अन्तराष्ट्रिय लक्ष्यहरू तर्फको प्रगतिमा बाधा पुगिरहेको छ ।
Welt Hunger Hilfe (डब्लु.एच.एच) र नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आर.आर.एन) को साझेदारीमा आयोजना हुने राष्ट्रिय संवादले खानेपानी, सरसफाइ तथा स्वच्छता, पोषण, स्वास्थ्य क्षेत्रहरु बीच समन्वय र सहकार्य अभिबृद्धि भइ खानेपानी, सरसफाइ तथा स्वच्छता नीति कार्यन्वयनमा परेका संरचनागत तथा प्रकृयागत समस्याहरुको सम्बोधन गर्न सहायता पुग्ने आर.आर.एन. को विश्वास छ ।


531 पटक हेरिएको 

